Dhulikhel Eco Banner new

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे पद तथा गोपनीयताको शपथ

2.99K
shares

काठमाडौं, २३ असार । प्रभु बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथग्रहण समारोह राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा सम्पन्न भएको हो।

समारोहमा डेपुटी गभर्नर निलम ढुङ्गाना, डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रभु बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतसमेत सहभागी थिए।

शपथग्रहण पछि अध्यक्ष कार्कीले सोमवार बसेको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गर्दै आधिकारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन्।

गत माघ २९ गते सम्पन्न तेईसौं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको ३८०औं सञ्चालक समिति बैठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका कार्की लामो समयदेखि नेपाल सरकारका विभिन्न निकायहरूमा उच्च तहका जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संस्थामा सहसचिवको रूपमा सेवा पुर्‍याइसकेका छन्।

त्यस्तै निजामति किताबखाना, आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको रूपमा समेत कार्यानुभव हासिल गरेका छन्। साथै नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक सदस्यका रूपमा समेत योगदान पुर्‍याएका छन्।

३८ वर्षभन्दा बढीको लामो सरकारी सेवाको अनुभव सहित प्रभु बैंकको नेतृत्व सम्हाल्न आएका अध्यक्ष कार्कीप्रति बैंकले उच्च विश्वास व्यक्त गरेको छ। बैंकले उनको सबल नेतृत्वमा संस्थाको व्यापार, प्रविधि तथा सेवा विस्तार थप मजबुत हुने अपेक्षा गरेको छ।

प्रभु बैंक लिमिटेड, शेयरधनी, ग्राहक तथा समग्र सरोकारवालाहरूका लागि यो एक गौरवको अवसर भएको बैंकले जनाएको छ।