भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति, विद्युत उत्पादन बन्द
वि.सं.२०८२ असार २५ बुधवार १२:२७
shares

काठमाडौं, असार २५ । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। क्षतिपछि आयोजना पूर्णरूपमा बन्द भएको छ।
गोसाइकुण्ड गाउँपालिका–१ र २ को सिमानामा रहेको आयोजनाबाट गत पुस १६ गतेदेखि व्यापारिक रूपमा विद्युत उत्पादन सुरु गरिएको थियो। तर असार २४ गते आएको बाढीले आयोजनाको बाँधस्थल, कर्मचारी आवासगृह, पहुँचमार्ग लगायतका संरचनाहरूमा व्यापक क्षति पुर्याएको हो।
आयोजनाको श्रोत नदीसमेत रहेको भोटेकोशीको बाढी नियन्त्रणभन्दा बाहिर रहेको र बाढीले आयोजना सञ्चालन असम्भव बनाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाढीपछि विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको छ।
बाढीबाट भएको क्षतिको पूर्ण मूल्यांकन जारी रहेको जनाइएको छ भने पुनः सञ्चालनका लागि आवश्यक कदम चाल्ने तयारी थालिएको बताइएको छ।

















