Dhulikhel Eco Banner new

फाइनान्स क्षेत्रमा कार्यरत युवाहरूका लागि सशक्तिकरण तालिम साउन १५ मा हुने

10.15K
shares

काठमाडौं, १४ साउन । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समितिले “फाइनान्स क्षेत्रका युवा युनियन सदस्यहरूका लागि सशक्तिकरण कोर्स” विषयमा विशेष तालिम कार्यक्रम साउन १५ गते बिहीवार आयोजना गर्ने भएको छ।

तालिम काठमाडौंको बत्तीसपुतलीस्थित होटल तपसमा हुनेछ। कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले गर्नेछन्। संघीय सांसद सिता मिजार र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुंवरको विशेष आतिथ्यता रहनेछ।

संघका महासचिव विकास श्रेष्ठका अनुसार, वित्तीय क्षेत्रमा कार्यरत युवाहरूलाई नेतृत्व, संस्थागत जागरूकता, श्रमिक अधिकार, पारदर्शिता र दिगो विकासबारे जानकारी दिन तालिम आयोजना गरिएको हो।

फिउन विगतदेखि नै बैंक, बीमा, लघुवित्त, पूँजी बजार र अन्य वित्तीय संस्थामा कार्यरत करिब २० हजारभन्दा बढी कर्मचारीहरूलाई संगठित गर्दै उनीहरूको हकहित संरक्षणमा क्रियाशील रहँदै आएको छ।

यस संघअन्तर्गत ५१ प्रतिष्ठानस्तरका युनियनहरू आबद्ध छन्। कार्यक्रममा सहभागीहरूले वित्तीय क्षेत्रमा सुधार, सुशासन, मर्यादित कामको वातावरण र नीति निर्माणमा युनियनहरूको भूमिका जस्ता विषयमा गहिरो छलफल गर्ने अवसर पाउने छन्।