Dhulikhel Eco Banner new

नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व

442
shares

काठमाडौं, २२ कात्तिक।  तिहारअन्तर्गत यमपञ्चकको एक महत्वपूर्ण दिन नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ । यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ ।

सनातन हिन्दु दर्शनमा मानिसले गरेको कर्मअनुसार मृत्युपछि स्वर्ग वा नर्क प्राप्त हुने विश्वास रहिआएको छ । सत्कर्म गर्ने मानिस स्वर्ग जाने र नराम्रो कर्म गर्नेले नर्कको दुःख भोग्नुपर्ने धार्मिक मान्यता छ । यही मान्यतालाई स्मरण गराउने दिनका रूपमा नरक चतुर्दशीलाई लिने गरिएको छ ।

धार्मिक विश्वासअनुसार वैतरणी नदी पार गरेपछि मात्र स्वर्ग पुग्न सकिन्छ । स्वर्ग र नर्कलाई एकअर्कासँग जोडेर हेर्ने सनातन दर्शनमा नर्कबिनाको स्वर्गको अस्तित्व र महत्वबारे पनि दार्शनिक व्याख्या गरिएको छ । नरक चतुर्दशीले मानिसलाई आफ्नो कर्म र त्यसको परिणामबारे सोच्न प्रेरित गर्ने मान्यता रहेको छ ।

यस दिन बिहानै अरुणोदयकालमा नदी, तलाउ वा अन्य जलाशयमा गई स्नान तथा तर्पण गर्ने चलन छ । तिलको तेल शरीरमा दलेर स्नान गर्ने परम्परालाई नरके नुहाउने भनिन्छ । कार्तिक महिनाको चिसो मौसममा स्नान गरेपछि तिलका झिँगटा बालेर ताप्ने प्रचलनसमेत रहेको छ ।

त्यसैगरी, नरक चतुर्दशीका दिन दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्ने र उक्त दीप नदी वा जलाशयमा बगाउने धार्मिक परम्परा छ । यसरी दीप बालेर बगाउँदा मृत्युपछि नर्कको यातना भोग्न नपर्ने धार्मिक विश्वास रहिआएको छ । दीप बगाउने यस कार्यलाई नरके बगाउने भनिन्छ ।

नरक चतुर्दशी केवल धार्मिक विधि र परम्परामा सीमित पर्व नभई मानिसलाई असल कर्म गर्न, गलत कार्यबाट टाढा रहन र जीवनलाई सत्मार्गमा अघि बढाउन प्रेरित गर्ने दार्शनिक सन्देश बोकेको पर्वका रूपमा पनि लिइन्छ । सत्कर्मबाट जीवनलाई सार्थक बनाउनुपर्ने र आफ्ना कर्मप्रति जिम्मेवार हुनुपर्ने सन्देश यस पर्वले दिने गरेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले तिहारअन्तर्गत नरक चतुर्दशीको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्व रहेको बताएका छन् ।

उनका अनुसार नरक चतुर्दशीका दिन चन्द्रोदयको समयमा स्नान गर्ने धार्मिक परम्परा छ । चतुर्दशीमा सूर्यभन्दा पहिले चन्द्रमा उदाउने भएकाले बिहान चन्द्रोदयको समयमा स्नान गरी तीर्थस्थलमा पूजा—अर्चना गर्ने चलन रहेको उनले बताए ।

नरक चतुर्दशीमा स्नानसँगै दीपदान गर्नुको पनि विशेष महत्व रहेको ढकालले बताए । धार्मिक मान्यताअनुसार यममार्गमा यात्रा गर्दा अन्धकारको सामना गर्न नपरोस् र दीपको ज्योतिले बाटो उज्यालो बनाओस् भन्ने उद्देश्यले दीपदान गर्ने परम्परा सुरु भएको हो ।

उनले नरक चतुर्दशीको स्नान र दीपदानलाई आध्यात्मिक दृष्टिले पनि बुझ्नुपर्ने बताए । जसरी झिसमिसे अन्धकारमा दीपको ज्योतिले उज्यालो फैलाउँछ, त्यसरी नै मानिसको जीवनमा ज्ञानको ज्योतिले मार्गदर्शन गर्न सकोस् भन्ने सन्देश यस पर्वले दिने उनले बताए ।

नरक चतुर्दशीका दिन चिसो मौसममा गङ्गा तथा तीर्थस्थलमा स्नान गर्ने, दीपदान गर्ने र तीर्थको पूजा—अर्चना गर्ने परम्परा रहेको उनले बताए । यद्यपि, व्यक्तिको अनुकूलताअनुसार धार्मिक विधि र पूजाआजा गर्न सकिने उनले बताए ।