सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत ओभरसब्सक्राइब इकाई बाँडफाँड
वि.सं.२०८२ साउन १५ बिहीवार १६:०७
shares

काठमाडौं, १५ साउन । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको सिटिजन्स सदाबहार योजना नेपालकै पहिलो २५ प्रतिशतले अधिक माग (ओभरसब्सक्राइब) भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवद्र्धन र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाई निष्काशन अत्यधिक सफलता साथ सम्पन्न भएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी २०८२ साल असार १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्काशन गरिएको यस योजनामा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अपेक्षा गरिएभन्दा धेरै आवेदन प्राप्त भएको थियो। प्राप्त आवेदनअनुसार तयार पारिएको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो र बोर्डबाट कुनै कैफियत नरहेको पाइएपछि सोही तालिका अन्तिमरूपमा स्वीकृत गरी साउन १५ गते बिहीबार बिहान १०ः३० बजे सिटिजन्स क्यापिटल लिमिटेडको डिल्लिबजारस्थित कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको हो।
बाँडफाँड कार्यक्रममा योजना व्यवस्थापक, कोष प्रवद्र्धक, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधिहरु र केही लगानीकर्ताहरूको उपस्थिति थियो। बाँडफाँडको नतिजा सिटिजन्स क्यापिटलको वेबसाइट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमा प्रकाशित गरिएको छ। यस योजनाले नेपालकै पहिलो २५ प्रतिशत ओभरसब्सक्रिप्सन भएको खुलामुखी म्युचुअल फण्डको इतिहास रच्न सफल भएको छ।
यस योजनामा उल्लेखनीय सहभागिता जनाउने सम्पूर्ण लगानीकर्ता, सहयोगी संस्था, नियामक निकाय, सञ्चारकर्मी र सरोकारवालाहरूलाई निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आभार प्रकट गरेको छ। सिटिजन्स क्यापिटल लिमिटेडले म्युचुअल फण्ड, लगानी व्यवस्थापन र वित्तीय परामर्श सेवा दिँदै आएको छ र आगामी दिनमा पनि लगानीकर्तालाई अझ व्यापक र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीको नेतृत्व अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले गरिरहेका छन्। सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो र यसमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ। काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा कम्पनीको कार्यालय रहेको छ र देशभरका सिटिजन्स बैंकका शाखामार्फत लगानी व्यवस्थापक सेवा प्रदान गर्दै लगानीकर्तालाई सहज पहुँच उपलब्ध गराइएको छ।















