Dhulikhel Eco Banner new

जेनजीले भत्काए संसद् भवनको पर्खाल

2.85K
shares

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजी प्रदर्शनकारीहरूले शनिबार संसद् भवनको पर्खाल भत्काइदिएका छन्।

नयाँबानेश्वरस्थित संसद् भवन बाहिर भइरहेको आन्दोलनको क्रममा आक्रोशित प्रदर्शनकारीहरूले रेलिङको फलाम निकालेर पर्खालमा प्रहार गरेका थिए। लगातारको प्रहारका कारण पर्खालमा ठूलो भ्वाङ परेको छ।

संसद् जस्तो उच्च सुरक्षा घेरामा रहेको संरचना भत्किनु सुरक्षाको गम्भीर चुनौतीका रूपमा लिइएको छ। घटनापछि संसद् परिसरको सुरक्षा अझ कडा पारिएको छ।

यसअघि प्रदर्शन नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरिएको भए पनि भीडले नियन्त्रण तोडेर संसद भवनमै प्रवेशको प्रयास गरेका थिए।

प्रदर्शन हिंसात्मक बन्दै गएको भन्दै सुरक्षाकर्मीहरूले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरिरहेका छन्।

घटनाले आन्दोलन झनै चर्किने संकेत देखाएको छ भने प्रशासन र सुरक्षाका लागि थप दबाब सिर्जना भएको छ।