सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक पुनरुत्थान सम्भव छः नाडा

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३८
shares

काठमाडौं, २९ भदौ । हालै देशभर भएका आन्दोलन तथा प्रदर्शनहरूले मुलुकको आर्थिक, सामाजिक र औद्योगिक क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नाडाले देशको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै हालको अस्थिर परिस्थितिले यस क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पुर्याएको जनाएको छ। कर्मचारी, ग्राहक र भौतिक संरचनाको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नाडाले यसले दीर्घकालीन रूपमा लगानी र उपभोक्ता विश्वासमा समेत असर पारेको बताएको छ।
नाडाले शान्तिपूर्ण संवाद र सहमतिबाटै हरेक जटिल समस्याको समाधान सम्भव हुने विश्वास व्यक्त गरेको छ। व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने भन्दै नाडाले सरकारसँग अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरणको माग गरेको छ।
आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता नाडाले व्यक्त गरेको छ। संगठनले हालको संकटबाट पार पाउन एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवाद आवश्यक रहेको धारणा पनि राखेको छ।
नाडाले नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै आगामी मन्त्रिपरिषद् विस्तार र आम निर्वाचनको तयारीमा सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गरेको छ। नाडाले वर्तमान सरकार जनभावनालाई आत्मसात गर्दै स्थायित्व र आर्थिक पुनरुत्थानमा अग्रसर हुने विश्वास समेत व्यक्त गरेको छ।