Dhulikhel Eco Banner new

सरकारद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

3.09K
shares

काठमाडौं, ४ असोज । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरेको छ। चालु आर्थिक वर्ष २०८२र८३ का लागि अर्थ मन्त्रालयले रु ९ अर्ब ८० करोड निकासा गरेको जानकारी दिएको छ।

यो निकासा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम गरिएको हो। चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार दोस्रो त्रैमासिकमा विनियोजित रकमलाई संशोधन गरी पहिलो त्रैमासिकमै राखी यो निकासा गरिएको हो।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा विगत सात वटा त्रैमासिकमा सहुलियतपूर्ण कर्जाको रूपमा प्रवाह भएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना गर्न मन्त्रीस्तरीय निर्णय भएको उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान प्राप्त गर्न नसकेको अवस्था रहेको थियो।
हाल यो रकम निकासा भएसँगै कर्जा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।

एकीकृत कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कृषि तथा पशुपन्छी कर्जाको हकमा पाँच करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारबाट फर्किएका युवा तथा शिक्षित युवाका परियोजनाका लागि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ।
प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका लागि पाँच लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले यस्ता कर्जा प्रवाह गर्दा त्यसको ब्याज सरकारले अनुदानस्वरूप व्यहोर्ने व्यवस्था रहेको छ।