Dhulikhel Eco Banner new

जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारको दिशामा गएको छः राष्ट्र बैंक

3.59K
shares

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका कारण भदौ महिनामा अर्थतन्त्रमा देखिएको क्षतिपछि सुधारको संकेत देखिन थालेको जनाएको छ। आन्दोलनपश्चात बनेको नयाँ सरकारले शान्ति–सुरक्षा, सुशासन र पुनर्निर्माणलाई प्राथमिकता दिएपछि आर्थिक सूचकहरूमा क्रमशः सुधार हुँदै गएको राष्ट्र बैंकको मूल्यांकन छ।

बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले भदौ महिनामा जेनजी आन्दोलनका क्रममा अर्थतन्त्रमा केही क्षति भए पनि त्यसपछिका नीति तथा राहत व्यवस्थाले बजार र उत्पादन क्षेत्रहरूमा सकारात्मक प्रभाव पारेको जनाएको हो।

प्रतिवेदन अनुसार ढिलो मनसुनका कारण कृषि उत्पादनमा केही गिरावट आए पनि उद्योग, निर्माण, जलविद्युत् र पूर्वाधार क्षेत्रमा प्रगति देखिएको छ। विशेष गरी नागडुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको र नयाँ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा थपिने तयारीमा रहेकोले औद्योगिक क्षेत्रलाई टेवा पुग्ने उल्लेख छ।

राष्ट्र बैंकका अनुसार, वैदेशिक रोजगारीमा वृद्धि र विप्रेषण आप्रवाह उत्साहजनक रहेकोले आन्तरिक बजारमा तरलता कायम रहनेछ। साथै, जेनजी आन्दोलनपश्चात प्रारम्भिक महिनामा घटेको पर्यटक आगमन क्रमशः सुधार हुँदै गएको र यसले सेवा क्षेत्रमा गतिशीलता ल्याइरहेको पनि प्रतिवेदनमा उल्लेख छ।

बाढी, पहिरो र प्राकृतिक विपद्‌का कारण केही पूर्वाधार परियोजनामा नकारात्मक असर परे पनि समग्रमा देशको आर्थिक वृद्धि सन्तोषजनक रहने राष्ट्र बैंकको अनुमान छ। बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर करिब ४.६ प्रतिशत रहनेछ, जुन अघिल्लो वर्षको ३.७ प्रतिशत भन्दा उच्च हो।