एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
वि.सं.२०८२ मंसिर १४ आइतवार १६:४८
shares

काठमाडौं, १४ मंसिर । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल सँग सहकार्य गर्दै देशभरको डिजिटल कारोबारलाई सरल, द्रुत र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ। नयाँ सेवा भौतिक तथा अनलाइन दुवै प्रकारका ई–कमर्स व्यवसायीका लागि उपयोगी हुने बैंकले जनाएको छ। यसमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी बैंकहरूले जारी गरेका भिजा र मास्टरकार्डमार्फत ग्राहकमाथि भुक्तानी स्वीकार गर्न सक्नेछन्। गेटवेमार्फत नेपालभित्र तथा विदेशबाट पनि भुक्तानी प्राप्त गर्न मिल्ने भएकाले व्यवसाय विस्तारमा ठूलो सहयोग पुग्ने बैंकको विश्वास छ।
नयाँ पेमेन्ट गेटवेमामा ‘थ्रि डी सेक्युड’ प्रविधि समावेश गरिएको छ, जसअन्तर्गत कारोबार प्रमाणीकृत गर्न ओटीपी वा पासवर्ड अनिवार्य हुन्छ। यसले कार्डबाट हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाइदिने तथा अनाधिकृत खरिदको सम्भावना उल्लेखनीय रूपमा घटाउने बैंकले जनाएको छ। सुरक्षित कारोबार प्रणालीका कारण उपभोक्ता तथा व्यवसायी दुबै पक्षले निश्चिन्त रूपमा अनलाइन व्यापार गर्न सक्ने वातावरण निर्माण हुने अपेक्षा बैंकले गरेको छ।
एनएमबि बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन तथा वित्तीय कारोबारको आधुनिकीकरणलाई तीव्रता दिन यस साझेदारी महत्वपूर्ण हुने बताएको छ। कार्ड भुक्तानीलाई सबैका लागि सरल, सुरक्षित र पहुँचयोग्य बनाउँदै देशलाई डिजिटल अर्थतन्त्रको दिशामा अगाडि बढाउन नयाँ सेवाले योगदान पुर्याउने विश्वास बैंकको छ। सुरक्षित भुक्तानी सुविधा अपनाउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे एकीकृत गर्न एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन्।
एनएमबि बैंकले हाल २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत देशभर उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।



















