Dhulikhel Eco Banner new

मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट खेलाडीहरूका लागि बीमा साझेदारी नवीकरण

5.23K
shares

काठमाडौं, १४ मंसिर । नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई एक वर्षदेखि निरन्तर बीमा सुरक्षा प्रदान गर्दै आएको मेटलाइफ नेपालले नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो साझेदारी नवीकरण गरेको छ। यस नवीकरणपछि पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूलाई प्रदान हुँदै आएको आर्थिक सुरक्षा, स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा निरन्तर रूपमा जारी रहनेछ, जसले खेलाडीहरूलाई खेल र उत्कृष्ट प्रदर्शनमा पूर्ण रूपमा केन्द्रित रहन प्रेरित गर्ने बताइएको छ।

यो साझेदारी त्यतिबेला नवीकरण गरिएको हो जब नेपालको राष्ट्रिय टोलीले पहिलोपटक आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गर्दै ऐतिहासिक उपलब्धि दर्ज गरेको छ। आगामी ठूला प्रतियोगिताका लागि तयारीरत खेलाडीहरूको मनोबल र आत्मविश्वासलाई अझ सुदृढ बनाउन मेटलाइफको निरन्तर साथ महत्वपूर्ण आधार भएको क्यानले जनाएको छ।

क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले मेटलाइफको निरन्तर सहयोगले खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा समेत शक्ति प्रदान गरेको उल्लेख गर्दै भने, “हाम्रा खेलाडी सुरक्षित छन् भन्ने थाहा पाउँदा उनीहरू निडर भएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन्। मेटलाइफको साथले हाम्रो टोलीलाई नयाँ उचाइतर्फ अघि बढ्न मद्दत गरेको छ।”

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव, साहस र एकताको प्रतीक भएको उल्लेख गर्दै भने, “हामी हाम्रा राष्ट्रिय खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छौँ। उनीहरू प्रत्येक खेलसँगै नेपाललाई प्रेरित गर्छन्, र हामी उनीहरूको यात्रा सुरक्षित बनाउन सदैव साथमा रहनेछौँ।” श्रेष्ठका अनुसार मेटलाइफ नेपाल राष्ट्रिय टोलीका लागि भरोसायोग्य सुरक्षा कवच बनेर उभिएको छ, जसले खेलाडीहरूलाई हरेक चुनौती सामना गर्न आत्मविश्वास प्रदान गर्दछ।

मेटलाइफ इन्क, यसको सहायक तथा सम्बद्ध कम्पनीहरूसहित, बीमा, एन्युटी, कर्मचारी लाभ तथा सम्पत्ति व्यवस्थापन सेवाहरू प्रदान गर्ने विश्वका अग्रणी वित्तीय सेवा प्रदायकमध्ये एक हो। सन् १८६८ मा स्थापना भएको यो कम्पनी अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप तथा मध्यपूर्वका ४० भन्दा बढी बजारमा सञ्चालनमा छ।

सन् २००१ देखि नेपालमा सेवा प्रदान गर्दै आएको मेटलाइफ नेपालले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, सामूहिक बीमा लगायतका सेवाहरू आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकलाई प्रदान गर्दै आएको छ। कंपनीका अनुसार, नेपालमा सुरक्षाको दायरा विस्तार गर्दै जिम्मेवार बीमा प्रदायकका रूपमा योगदान निरन्तर जारी रहनेछ।