कात्तिकमा महँगी दर उल्लेख्य रूपमा घट्यो
वि.सं.२०८२ मंसिर २९ सोमवार १६:०५
shares

काठमाडौं, २९ मंसिर । मुलुकभर महँगीको चक्र कम हुने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतमा झरेको छ। यो गत वर्षको सोही अवधिको ४।५९ प्रतिशतसँग तुलना गर्दा उल्लेखनीय कमी हो।
कात्तिक महिनामा मात्र मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ५.६० प्रतिशत थियो। यसले मूल्यवृद्धिको गति स्पष्ट रूपमा सुस्ताएको देखाउँछ।
खाद्य तथा पेय पदार्थ समूहमा मूल्यसूचक ऋणात्मक रहँदा मुद्रास्फीति ३.३२ प्रतिशत घटेको छ। तर गैर–खाद्य तथा सेवा समूहमा मूल्य बढेर ३.६९ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा खाद्य समूहमा मुद्रास्फीति ९।१० प्रतिशत र गैर–खाद्य समूहमा ३.६५ प्रतिशत थियो।
खाद्यतर्फ घ्यू–तेल, दुग्धजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थको मूल्य बढे पनि तरकारी, मसला र दाल–गेडागुडीको मूल्य उल्लेखनीय रूपमा घटेको छ।
गैर–खाद्य तथा सेवा समूहमा शिक्षा, कपडा, जुत्ताचप्पल, सुर्तीजन्य वस्तु र घरायसी सामग्रीको मूल्य बढेको छ भने बीमा र वित्तीय सेवाको मूल्य सामान्य रूपमा घटेको छ।
क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मूल्यवृद्धि ग्रामीण क्षेत्रभन्दा बढी छ। प्रदेशगत हिसाबले कोशी र मधेश प्रदेशमा मुद्रास्फीति उच्च छ भने गण्डकी र सुदूरपश्चिममा न्यून छ। भौगोलिक हिसाबले काठमाडौं उपत्यका र तराईमा मूल्य वृद्धि पहाड र हिमाली क्षेत्रभन्दा केही माथि छ।

















