Dhulikhel Eco Banner new

पाँच महिनामा नेपालको निर्यात ५८ प्रतिशतले वृद्धि, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो

6.15K
shares

काठमाडौं, ७ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यही अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको थियो।

यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। पाँच महिनामा नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा वैदेशिक व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १५.८३ प्रतिशतले बढेको छ।

आयाततर्फ पेट्रोलियम पदार्थ शीर्ष स्थानमा रहेको छ। पाँच महिनामा नेपालले १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। यसमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको हवाई इन्धन तथा ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन समावेश छन्। पेट्रोलियम पदार्थपछि ३९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ।

निर्याततर्फ भने सोयाविन तेल अग्रस्थानमा देखिएको छ। समीक्षा अवधिमा नेपालबाट ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ। त्यसपछि १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सिंथेटिक कपडा र १ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको भन्सार विभागले जनाएको छ।