Dhulikhel Eco Banner new

दीगो पर्यटन विकासको लागि पर्यटन दशक आवश्यक : मन्त्री श्रेष्ठ

8.61K
shares

काठमाडौं, २६ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् । पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतवार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासिको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजिकरणको काम गर्न बताउँदै यसको समग्र विकासको लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने धारणा व्यक्त गरे । यस्तै उनले नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफु आशावादी रहेको समेत बताए ।

कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाडि बढाईएको जानकारी दिए । उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको समेत बताए ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड पछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने बताए । पूर्व सभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसंग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताए ।

पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधीहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताको लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

पूर्व पर्यटन राज्य मन्त्री याङकिला शेर्पाले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चिचता आवश्यक भएको बताए । यस्तै अर्को वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन दशक भन्दा पर्यटन विकासको लागि दशकको अवधारणा उपयुक्त हने र भ्रमण वर्ष छोटो समयको राख्दा उपयुक्त हुने सुझाव दिए ।

यस्तै होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा र वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिए । पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले दशक मनाउँदा हरेक वर्षलाई कुनै एक थिममा राखेर मनाउँदा उपयुक्त हुने सुझाब दिए ।

कार्यक्रममा प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) इन्टरनेशनलका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाई, नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोला, पर्यटन व्यवसायी विक्रम पाण्डे, अशोक पोखरेल लगायतका व्यक्तिहरुले पर्यटन दशकका रुपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दे ठोस कार्य योजना ल्याउन सुझाव दिएका थिए ।