Dhulikhel Eco Banner new

कैलाली बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल

5.95K
shares

काठमाडौं, १४ कात्तिक । कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो ।

उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुप¥यो ।

कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् । यसले बजार निकै महँगो भएको उपभोक्ता हरि विकले बताए । “यस वर्ष चाडपर्वमा मासुभन्दा तरकारी महँगो भयो, चाडपर्वमा बढी तरकारी खपत हुने गर्छ । प्रतिकिलो रु १०० मुनि कुनै तरकारी पाइएन, गत वर्ष यो बेला साग रु २०/३० मा पाइन्थ्यो । यस वर्ष खान सकिएन ।”

टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ । चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ । बजारमा अहिले काउली, साग, खुर्सानी, टमाटर, मूला, च्याउलगायतका तरकारीको मूल्य उच्च छ । प्रतिकिलो रु १०० माथि नै छ । तरकारीको सिजन लाग्दै गर्दा र स्थानीय उत्पादन हुने बेलामा पनि बजारमा तरकारीको मूल्य अधिक नै छ ।

“तिहारका समयमा खोजेको सबै तरकारी पाउन सकिएन, काउली प्रतिकिलो रु १५० मा किनियो, प्याज पनि प्रतिकिलो रु १४० मा किन्यौँ, अन्य तरकारी पनि यस्तै महँगो खानुप¥यो”, उपभोक्ता कमला न्यौपानेले भने, “बजारमा महँगो भएपछि हामी निकै मर्कामा परेका छौँ । सिजनल तरकारी पनि निकै महँगोमा खानुपरेको छ ।” चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक रहेको स्थानीय उपभोक्ता अमित चौधरीले बताए । “तरकारी छोइसक्नु छैन, यति महँगो तरकारी अहिलेसम्म खाएको थिएन”, उनि भन्छन्, “हामीजस्ता सधैँ किनेर खानेलाई यो महँगीले हैरान बनायो ।”

तरकारी रोप्ने सिजनमा अनाधिकृत वर्षाले रोपेको तरकारी बाली नष्ट तथा रोप्नमा ढिलाइ भएकाले अहिले बजारमा तरकारीको मूल्य अधिक बढेको तरकारी व्यवसायीको भनाइ छ । स्थानीय बजारमा पाइने तरकारीको मूल्य हेर्दा अहिलेसम्मकै उच्च छ ।

अहिले बजारमा सिजलन तरकारीको समेत मूल्य उच्च भएको तरकारी व्यापारी शिला चौधरीले बताए । “बजारमा पाइने प्रायः तरकारी अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ । बाहिरबाट ल्याउँदा हामीलाई नै महँगो पर्छ”, उनि भन्छन, “यही उत्पादन भएको तरकारी बजारमा आएमात्रै सस्तोमा खान पाइन्छ ।”

असोज १ गते र २३ गते आएको बाढीले तरकारी खेती गर्ने किसानको धेरै क्षति भएको छ । तरकारीका बेर्ना र खेती गरेका किसानको बाली नोक्सान भएको छ । बाली नोक्सानपछि तरकारी किसानले यतिबेला फेरि तरकारी रोप्न थालेका छन् । बजारमा स्थानीय उत्पादित तरकारी आउन अझै एक महिना लाग्ने किसान बताउँछन् ।