चितवनमा ‘मिल्क होलिडे’को संकेत, चितवन मिल्कले दुध नलिने
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:४५
shares

चितवन, २३ कात्तिक । चितवनमा ‘मिल्क होलिडे’ हुने सम्भावना बढेको छ । चितवन मिल्क लिमिटेडले नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दुध नलिने संकेत गरेपछि ‘मिल्क होलिडे’ को सम्भावना बढेको हो ।
कर्मचारीहरुलाई बिदा दिनुपर्ने र उद्योगको मेसिनलाई मर्मत सम्भार तथा सरसफाइ गर्नुपर्ने भन्दै उद्योगले दुग्ध उत्पादक सहकारी संघलाई लक्ष्मीपूजाको दिनदेखि केही दिन उद्योगको काम रोकिने भन्दै दूध नपठाउन पत्र पठाएपछि यो घटना सार्वजनिक भएको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको तथ्याङ्कअनुसार चितवनमा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । एक लाख ३५ हजार लिटर दूध चितवनमा खपत हुन्छ भने बाँकी बाहिरी जिल्ला र ५० हजार लिटर दूध भरतपुर–१, ठिमुरास्थित चितवन मिल्क लिमिटेडमा खपत हुँदै आएको छ ।
सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध उत्पादक किसानका लागि चितवन मिल्कले ठूलो भूमिका खेल्दै आएको छ । तर, एकदिनमात्रै चितवन मिल्क बन्द हुँदा मिल्क होलिडेको स्थिति आउन सक्छ ।
उद्योगले संघलाई पत्र काटेपछि यतिबेला दुग्ध किसान समस्यामा परेका छन् । किसानको दूध खेर जान नदिन संघका अध्यक्ष बगाले, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीसहितका पदाधिकारीले बुधबार उद्योगमै पुगेर काम नरोकिदिन आग्रह गरेका हुन् ।
उद्योगका सहायक प्रबन्धक हेमप्रसाद तिवारीले दूध ल्याउने डेरी पसलहरुले पाउडर दूध र बटर समयमै नलगिदिँदा उद्योगमा दूधको भण्डारण गर्ने ठाउँ नभएको जनाएका छन् । दूध ल्याउने कम्पनीहरुले आआफ्नो डेरीका सामान लगेर गोदाम खाली गरिदिन उनले आग्रह गरेका छन् । दूध ल्याए अनुसार सामान नलगिदिँदा गोदाम नै भरिन पुगेको उनको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बगालेले भने उद्योगमा थन्किएर बसेका आफ्नो सामान उठाइदिने विषयमा समन्वय गरिदिने बताउँदै उद्योग बन्द नगरिदिन अनुरोध गरेका छन् ।



















