Dhulikhel Eco Banner new

दुई सातामा २० रुपैयाँले महंगियो चिनी

6.58K
shares

काठमाडौं, ३० जेठ । पछिल्लो दुई हप्तामा नेपाली बजारमा चिनीको मूल्य २० रुपैयाँले बढेको छ । भारत सरकारले गत जुन १ देखि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको असर देखिएको हो ।

भारतले आन्तरिक बजारमा चिनीको मूल्य उच्चरुपमा बढेकाले चिनीको मूल्यलाई सन्तुलन गर्न निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारत सरकारको नीति तथा निर्णयले नेपाली बजारमा निकै ठूलो प्रभाव पर्ने गर्दछ । त्यस्तै, भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनी अभावसँगै मूल्य बढेको छ ।

दुई हप्ताअघिसम्म खुद्रा व्यवसायीहरूले उपभोक्तालाई प्रतिकेजी ९० रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री गर्दै आएकोमा अहिले केजीमा ११० देखि ११५ रुपैयाँसम्म चिनी बिक्री भइरहेको छ । बजारमा अहिले चिनी पर्याप्तमा मात्रामा पाए पनि मूल्य भने निरन्तर बढ्दै गएको छ ।

नेपालमा चिनीको आन्तरिक खपत २ लाख ५० हजार मेट्रिक टन रहेको जनाएको छ । त्यसमा १ लाख ३० हजार मेट्रिक टन स्वदेशी उद्योगले धान्दै आएको छ भने बाँकी चिनी विभिन्न मुलुकबाट आयात गर्नु पर्ने अवस्था छ । जसमा नेपालले सम्पूर्ण चिनी भारतबाट आयात गर्ने गरेको सरकारी तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्अनुसार नेपालले ९ महिनाको अवधिमा ४ अर्ब ७० करोड ६२ लाख रुपैयाँ बराबरको ८ करोड ९९ लाख ७९ हजार केजी चिनी आयात गरेको छ ।