मल माग्दै किसान माइतिघरमा
वि.सं.२०७९ असार ८ बुधवार १७:४६
shares

काठमाडौं, ८ असार । खेती गर्ने समयमा मलको अवाभ पूर्ती गर्न माग गर्दै किसानहरुले आन्दोलित भएका छन् । संयुक्त किसान आन्दोलन नाम दिएर किसानहरुले माइतिघर मण्डलामा विरोद्ध र्याली गरेका हुन् ।
सो र्यालीमा सहभागीहरुले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेको बताएका छन् । विरोध प्रदर्शनमा सहभागि भएका किसानहरुले हात–हातमा धानको बिउ नै ल्याएर सांकेतिक रुपमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागिहरुले कृषिमन्त्रीको राजीनामा माग्नेदेखि किसानका पक्षमा नारालगाएका थिए । अहिले असारको महिना मानो रोपेर मुरी उब्जाउने समयमा आवश्यक पर्ने मल नहुुदा कृषकहरु मर्कामा परेको भन्दै किसानहरु विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनमा विभिन्न कृषि संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अहिले चरम बिन्दुमा पुगेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न पनि र्यालीमा सहभागिहरुले माग गरेका थिए । यो सभा सांकेतिक रहेको र समस्या समाधान नभए देशभरि आन्दोलन गर्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम प्रसाद दंगालले बताए ।
मल आयातमा समस्या नभए पनि सरकारी निकायहरुले आफुले कमिसन खान नपाउने कारणले मात्रै मलको अभाव भएको किसानको आरोप छ । साथै सरकारले निजी खरिदकर्तासँग मिलेर आयात गर्ने तथा दोब्बर मूल्यमा बेच्ने गरेको कारण यो अवस्था आएको उनीहरको भनाइ छ । यसले गर्दा देशमा अझै गरिबी बढ्दै जाने र किसानहरुको चुलो बल्न नै बन्द हुने अवस्था सिर्जना भएको अखिल नेपाल किसान महासंघमा आवद्ध सरिता भुसालले बताएकी छिन् ।

















