Dhulikhel Eco Banner new

सात बैंकले तिरे क्यापिटल चार्ज

11.83K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले सात वटा वाणिज्य बैंकलाई क्यापीटल चार्ज गर्ने भएको छ । चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै क्यापीटल चार्ज गर्न लागेको हो ।

कारवाही पर्ने बैंकहरुमा प्राइम, एसबीआई, कुमारी, लक्ष्मी, सिद्धार्थ, सेञ्चुरी र सनराइज बैंक रहेका छन् । चैत मसान्तमा तरलता अनुपात काम गर्न नसकेका बैंकहरुलाई राष्ट्र बैंकले क्यापिटल चार्ज  गर्ने भएको छ । यसमा सबैभन्दा कम तरलता अनुपात कायम रहेको प्राइम बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यसको तरलता अनुपात १५.९१ प्रतिशत रहेको छ ।

यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारी बैंकको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत, सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले हरेक दिन नै बैंकहरुको तरलता अनुपातलाई हेर्ने गर्छ । राष्ट्र बैंकले ११ वटा शिर्षकमा क्यापिटल चार्ज लगाउने गर्छ । जसमा एउटा शिर्षकमा तरलता अनुपात रहेको छ । चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको छ । बैंकहरुले आफूसँग भएको निक्षेपमा २० प्रतिशत रकम तरल रुपमा राख्नपर्ने प्रावधान रहेको छ ।

राष्ट्र बैंकको ऐन अनुसार बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ख्याल गरेर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

सीडी रेसियोमा आएको सुधारसँगै तरलता अनुपात समेत तोकिएको भन्दा बढी हुन लागेको छ । चैत मसान्तमा औसतमा सीडी रेसियो ९०.८४ प्रतिशत थियो । अहिले ८८.०६ प्रतिशतमा झरेको छ । सीडी रेसियो बढी भएका तथा तरलता अनुपात २० प्रतिशतभन्दा बढी भएका बैंकहरुले पछिल्लो समय ऋणपत्र निष्कासनलाई प्राथमिकता दिएका छन् ।