लक्ष्मी बैंकले कमायो १ अर्ब ६० करोड नाफा
वि.सं.२०७९ साउन ७ शनिवार १०:१३
shares

काठमाडौं, ७ साउन । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले असार मसान्तसम्मको अवधिमा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.७६ प्रतिशत मात्रै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ दुख नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जामा सुधार नआएका कारण खुद नाफामा दबाव परेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१७ प्रतिशत मात्र बढेको छ । निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
नाफामा झिनो सुधार भएपनि बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।



















