GBIME

राष्ट्र बैंकले अनुमति दिँए पनि ऋणपत्र जारी गर्न लघुवित्त कम्पनीहरुले किन प्रकिृया अगाडि बढाएनन् ?

2.47K
shares

काठमाडौँ, २० वैशाख । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुलाई प्राथामिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेपनि हालसम्म सो लघुवित्त कम्पनीहरुले ऋणपत्र निष्काशनको लागि प्रकृया भने अघि बढाएका छैनन्।

वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको छ।

यसमध्ये केहि राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले ऋणपत्र जारी गरिसकेका छन्। तर लघुवित्त कम्पनीहरुले भने अहिले ऋणपत्र निश्काशनको लागि प्रकृया थालेका छैनन्।

हाल साना किसान लघुवित्त, फस्ट माइक्रोफाइनान्स, आरएसडिसि लघुवित्त र आरएमडिसि लघुवित्त गरी ४ वटा थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरु सञ्चालनमा रहेका छन्।

लघुवित्त कम्पनीहरुले मौद्रिक नीति अघिदेखि नै ऋणपत्र निष्कासन गर्न पाउनु पर्ने माग अघि सार्दै आएको थिए। उनीहरुले लघुवित्त बैंकर्स सँघमार्फत पनि ऋणपत्र जारी गर्न पाउनुपर्ने माग अघि सारेका थिए। तर केन्द्रीय बैंकले मौद्रिक नीतिमा प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेपनि लघुवित्त कम्पनीहरुले अहिलेसम्म कुनै प्रकृया अघि बढाएका छैनन्।

खासगरी अहिले तरलताको अभावको कारण बजारबाट पैसा उठाउनसक्ने अवस्था नरहेको र महँगो ब्याजदरमा ऋणपत्र जारी गर्नुपर्ने भन्दै लघुवित्त कम्पनीहरु पछि हटेको देखिएको छ। अहिले बजारमा तरलताको चरम अभाव छ। बैंकिङ्ग प्रणलीमा निक्षेप बढ्नुको साट्टो उल्टै घट्दो क्रममा छ। यसले गर्दा पनि अहिले बजारबाट पैसा उठाउन सक्ने अवस्था छैन।

केन्द्रिय बैंकले नै यसअघि जारी गरेको नागरिक बचतपत्रको ब्याजदर कम भएको कारण सर्वसाधारणको उत्साहजनक उपस्थिति नदेखिएको भन्दै ब्याजदरु बढाएर ११ प्रतिशत पुर्याएको छ। यसबाट पनि अहिले बजारबाट पैसा उठाउन सहज नरहेको प्रष्ट हुन्छ।

अर्कोतर्फ आगामि १० वर्षको लागि जारी गरिने ऋणपत्रको ब्याजदर अत्याधिक महँगो पर्ने भएपछि उनीहरुले लागत बढ्ने भएकोले पनि अहिले ऋणपत्र जारी गर्नको लागि सहि समय नरहेको उनीहरुको भनाइ छ। “यो नर्मल ब्याजदर भएको बेलामा जारी गर्ने कुरा हो।“ फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले भने “१० वर्षको लागि अहिले १२÷१३ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्नु उचित हुँदैन। ब्याजदर धेरै भएको बेलामा जारी गर्ने अनि ब्याजदर कम हुँदा तिर्दै जाने साधन यो होइन।“

उनको अनुसार अहिले ब्याजदर उच्च विन्दुमा पुगेको कारण यसले लघुवित्त कम्पनीहरुको लागत धेरै बढाउछ। “ऋणपत्र जारी गर्ने प्रकृया अघि बढाएपनि अहिले तरलता अभाव ब्याजदर बढी हुन्छ जसले गर्दा लागत बढी पर्ने भएकोले यो उपयुक्त समय नहुन सक्छ।“ पौडेलले भने।

साधारण अवस्थामा थोरै भए पनि पूँजी आउने र लागत पनि कम पर्ने अवस्था भएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए। अहिलेको अवस्थामा दुबै कुरा नकारात्मक उनको भनाइ छ।