कुमारी बैंकको ऋणपत्र आजदेखि खरिद गर्न सकिने
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:४०
shares

काठमाडौं, १७ भदौ । कुमारी बैंक लिमिटेडले आज शुक्रबार देखि ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।


















