बैंकहरुमा निक्षेप संकलन ८ अर्बले बढ्दा कर्जा प्रवाह ७ अर्बले बढ्यो
वि.सं.२०७९ भदौ २७ सोमवार १७:५८
shares

काठमाडौं, २७ भदौ । पछिल्लो एक हप्तामा नेपाली बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । लगातार रुपमा ओरालो लागेको निक्षेप संकलन भदौको दोस्रो हप्तादेखि बढ्न थालेको थियो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार भदौ २४ गते सम्म बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ४५ अर्ब पुगेको छ । यो भदौको दोस्रो हप्ताको तुलनामा ८ अर्बले बढी हो । भदौको दोस्रो साता ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो ।
सुरुका दुई हप्तामा ४४ खर्ब २६ अर्ब रहेको निक्षेप संकलन त्यस पछि भने बढ्न थालेको बैंकर्स संघको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको सुरुदेखिनै बैंकहरुको निक्षेप संकलनमा गिरावट आएको थियो ।
भदौको तेस्रो हप्तासम्मको विवरण अनुसार कर्जा प्रवाह पनि बढेको देखिएको छ । भदौको २४ गते सम्मको विवरण अनुसार बैंकहरुले ४१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । कर्जा प्रवाह भदौ दोस्रो साताको तुलनामा यो ७ अर्बले बढी हो । भदौको दोस्रो सातासम्म बैंकहरुले ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।















