एनसीसी बैंकलाई महंगो पर्यो मर्जर, कर्मचारीलाई बिदाइ गर्दा १३ करोड खर्च
वि.सं.२०७९ मंसिर १९ सोमवार १७:३९
shares

काठमाडौं, १९ मंसिर । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर प्रक्रिया महंगो परेको छ । कुमारी बैंकसँग मर्जर हुन लागेको बैंकले कर्मचारीको अवकासका लागि १३ करोड रुपैयाँ खर्च गरेको हो ।
बैंकले सिनियर कर्मचारीलाई बिदाइ गर्दा आगामी ३६ महिनाको सेवा सुविधा सहित बिदा गर्दा उक्त रकम खर्च भएको बताइएको छ । त्यस्तै बैंकले थप गाडी सुविधा सहित लामो समय योगदान गरेका कर्मचारीलाई बिदा धेरै रकम खर्च भएको जनाइएको छ ।
बैंकले १३ जना सिनियर कर्मचारीलाई बिदाई गरेको छ । जसमा तीन जना नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सहित १३ जनालाई बैंकले बिदा गरेको हो । बैंकले डेपुटी सीईओहरु वन्दना पाठक, रेवन्त कुमार दाहाल, सन्दीप प्रसाद पाण्डेलाई अवकाश दिएको छ । त्यस्तै बैंकका डिजिएम विनोद कुमार शर्मालाई पनि स्वैच्छिक अवकाश दिइएको छ ।
त्यस्तै बैंकले सिनियर म्यानेजर नगेन्द्र प्रसाद बिमली, म्यानेजरहरू उरेशमान कायस्थ, विनय प्रसाद अधिकारी, सरिना पाण्डे, अस्मिता श्रेष्ठ, डेपुटी म्यानेजरहरू मीनराज जङ्ग शाह, अनिल पराजुली र प्रितम कुमार दास श्रेष्ठ तथा सहायक म्यानेजर दुर्गा प्रसाद पाण्डेलाई अवकाश दिइएको हो ।
एनसीसी बैंक र कुमारी बैंक बीच मर्जरमा जाने विषयमा सम्झौता भइसकेको छ । जसमा १ः१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति भएको छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहने छ भने सीईओ र अध्यक्ष एनसीसी बैंकले पाउने छ । सञ्चालक समितिमा कुमारीका तर्फबाट ३ र एनसीसीबाट ४ जना रहने सहमति भएको छ ।
मर्जरपछि पनि हालका एनसीसी बैंकका सीईओ रमेशराज अर्याल सीईओनै रहनेछन् भने कुमारी बैैंकका डेपुटी सीईओ रहेका रामचन्द्र खनाल डेपुटी सीईओ हुने छन् ।














