GBIME

‘पत्रकार माफियाका एजेन्ट हुन्, गभर्नर पनि बैंकका गुलाम भए’

अरु त अरु, हाम्रै उद्योगी–व्यवसायीहरु पनि माफिया छन् : अध्यक्ष चिपालु

7.93K
shares

काठमाडौं, ५ फागुन । पछिल्लो समय निजी क्षेत्र समस्यामा छ । खासगरी साना तथा मझौला उद्योग व्यवसायहरु अहिले अप्ठेरो अवस्थामा छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ भने यतिबेला चुनावी तयारीमा जुटेको छ । महासंघको आगामी चैतमा हुने अधिवेशनबाट अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्दैछन् ।

बाँकी पदहरुमा भने चुनाव हुनेछ । उद्योग व्यवसायीहरुले भोगिरहेका समस्या र महासंघको आगामी चुनावका विषयमा हामीले जिल्ला–नगरका उद्योगी व्यवसायीहरुसँगको कुराकानी पस्कदै आएका छौं । यो श्रृंखलामा भने हामीले उद्योग वाणिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, केटिएम भ्वाइसकर्मी पुजा माझीले अध्यक्ष चिपालुसँग गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय इलामको उद्योग–व्यवसायको अवस्था के–कस्तो छ ?

व्यवसायको अवस्था चौपट छ । अझ पहाडी क्षेत्रका व्यवसायहरु अझै अप्ठरो अवस्थामा छन् । इलामको मात्रै होइन अहिले देशकै समस्या बर्वाद छ । बैंकहरुको मनोमानी र चर्को ब्याज को कारण उद्योग तथा व्यवसाय एकदमै नाजुक अवस्था मा छ । पहाडिजिल्लाहरुको जुनसुकै व्यवसायमा पनि मन्दी छाएको छ । राज्यबाट पाउने सुविधा केहि छैन् तर राज्य कर उठाउन मात्रै ध्यान दिन्छ । स्थानीय सरकार बनेपछि त झन सेवा होइन कर लिने मात्रै काम भएको छ । जनताले तिरेको करको उपयोग भएको छैन ।

महंगीले सीमा नाघेको छ । महंगीले कसले नियन्त्रण गर्ने ? त्यसतर्फ राज्यले सोचेन । राज्यको प्रमुख भूमिकामा बसेका जिम्बेवार पार्टीका नेताहरुकै बैंक र हाइड्रोपावरमा शेयर छ, त्यो पनि बिना लगानीको । कमिशन खाने, शेयर खाने ठूलै पार्टीका नेताहरु छन् । अनि कसरी बन्छ देशको अर्थतन्त्र ?

मेरो आपत्ति त तपाईहरु पत्रकारप्रति नै छ । माफियाको एजेन्टहरु नै पत्रकार हो । मैले यो कुरा पटक पटक भनेको छु । धेरै पत्रकारहरुलाई नै भनेको छु, तपाईहरु त माफियाकै पक्षमा लेख्नुहुन्छ । देशमा कस्ता कस्ता गलत कामहरु भएका छन्, त्यसलाई खै त बाहिर ल्याउनु भयो ? हाइ लेभलकै पत्रकारहरुलाई मैले यो भनेको छु ।

मैले गभर्नरलाई नै भनेको छु, तपाई बैंकहरुको गुलाम हो । गभर्नर बैंकहरुको गुलाम भएकै कारण देशको अर्थतन्त्र बर्वाद भयो । यहाँ त राष्ट्र बैंक नै खत्तम छ । पत्रकारहरु नै खत्तम हुनुहुन्छ । तर मैले सबैलाई भन्न खोजेको होइन । तपाईका लागि माफी चाहान्छु, अलि हाइ लेभलका भनिएका पत्रकारहरु खत्तम हुन् ।

बैंकको ब्याजदर बढेको छ, ऋण पनि सजिलै पाउन नसक्ने अवस्था छ, यसको असर निजी क्षेत्रमा कतिको परेको छ ?

बैंकको ब्याजदर त अन्यधिक बढेको छ । यसले व्यवसाय टिक्नै नसक्ने अवस्थामा पुगेको छ । अहिले लघुवित्त संस्थाहरुले पनि बर्वाद बनाइसक्यो । यो सबै भएको नीति कै कारण हो । राष्ट्र बैंकले लिएको नीति नै खत्तम छ । अनि कसरी हुन्छ अर्थतन्त्र सुधार ? कसरी बन्छ व्यवसायिक वातावरण ? राष्ट्र बैंकले व्यक्तिगत स्वार्थका लागि नीति बनाएको छ ।

पत्रकारहरु झनै उस्तै । राम्रो कुराहरु नलेख्ने । हाम्रा कुराहरु पनि सही तरिकाले आउदैनन् । तपाईहरु जस्ता पत्रकारले लेखिहाले पनि ठूलो पत्रकारहरुले काटि दिन्छन् । किनभने, त्यसले उनीहरुलाई असर गर्छ । कमिसन खोसिन्छ, भाग खोसिन्छ । यसकारण हरेक क्षेत्रका सही आवाजहरु पत्रकारहरुले दिनसक्दैनन् ।

एफएनसीसीआइ को चुनाव नजिकीँदै छ, तपाइले चै आगामी नेतृत्व कस्तो चाहानु भएको छ ?

चुनाव नजिकीँदै छ, बैंक ब्याजको बिषयमा हाम्रो आन्दोलन पनि भैरहेको छ । तर हाम्रा नेताहरुले राज्यको गुलामी गर्दै हिँडेकाले अगाडि बढ्न सकेको छैन नेतृत्व लिन सकेको छैन । अब कस्तो व्यक्तिले कसरी नेतृत्व लिन सक्छ त्यस्ता जनशक्तिको चयन गर्ने बेला आएको छ ।

पहिलाको नेतृत्वले चाँहि काम दिदैन् यस बिषयमा जिल्ला इलाम उद्योग बाणिज्य संघले पहिलेदेखि नै ध्यानाकर्षण गराइरहेको छ । हाम्रा मुद्दा लगेर राज्यसँग बार्गेनिङ गर्छ अनि आफ्नो व्यक्तिगत स्वार्थका लागि त्यो मुद्दा छोड्दिन्छ ।

त्यो हाम्रो नेताहरुको गद्दारीका कारण पनि हामी समस्यामा छौँ । हामीले विरोध गर्दागर्दै पनि कतिपय नियमहरु लागू भएका छन् । यी र यस्ता यावत समस्याहरु टप लेभलबाटै लागु भैरहेको छ । माथिल्लो निकायमै यस्ता माफियाहरु छन् । जसको आगामी चुनावमा पत्ता साफ हुन जरुरी छ ।

उद्योगी व्यवसायिहरु नै माफिया छन् ?

उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भनेको ठूलै व्यवसायीहरु हुन्छन् । उनीहरुको माथिसम्म पहुँच हुन्छ । अर्बौ ऋण उनीहरुले लिएका हुन्छन् । सबै त नहोलान्, तर धेरै त्यस्ता छन् । त्यो कुरा तपाई पत्रकारहरुलाई पनि थाहाँ छ तर, बाहिर ल्याउनै चाहानुहुन्न । कतिपय उद्योगहरुले अर्बौ रकम तिर्न छ, खै त तिरेका ? यो कुरा तपाईहरु लेख्न सक्नुहुन्न । किनकी ठूला पत्रकारहरु नै कमिसनमा चल्छन् ।