बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड लगानी गर्दै राष्ट्र बैंक
वि.सं.२०८१ माघ २७ आइतवार १२:५१
shares

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्स कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।
राष्ट्र बैंकले कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ ।
यो मुद्दति निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

















