राष्ट्र बैंकद्वारा दुई मनीचेञ्जर कम्पनीको लाइसेन्स रद्द
वि.सं.२०८२ असोज २३ बिहीवार १०:१६
shares

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौंमा सञ्चालित दुई मनीचेञ्जर कम्पनीहरूको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। निर्धारित समयमा नवीकरण नगरेपछि राष्ट्र बैंकले उक्त निर्णय लिएको हो।
लाइसेन्स रद्द गरिएका कम्पनीहरूमा मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र ठमेलस्थित के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि. रहेका छन्।
राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले ‘नेपाल राष्ट्र बैंक, मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम १९ को उप–विनियम (३) अन्तर्गत तोकिएको तीन महिनाभित्र नवीकरण नगरेको कारणले लाइसेन्स स्वतः रद्द गरिएको हो।
विनियमावली अनुसार, म्याद समाप्त भएपछि ३ महिनाभित्र इजाजतपत्र नवीकरण नगरेको खण्डमा राष्ट्र बैंकले लाइसेन्स रद्द गर्न सक्ने स्पष्ट व्यवस्था छ। यी कम्पनीहरूले सो अवधिमा कुनै पनि प्रक्रिया पुरा नगरेको राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकले इजाजतपत्र रद्द भएका कम्पनीहरूबाट मनीचेञ्जर सेवा नलिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।















