ग्लोबल मनी विक–२०२६ः महालक्ष्मी विकास बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत ८ आइतवार १६:४७
shares

काठमाडौं, ८ चैत । ग्लोबल मनी विक–२०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले देशैभर वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरू सञ्चालन गरी सम्पन्न गरेको छ।
बैंकले चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरू पहिचान गर्दै देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत विभिन्न कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।
दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, पोखरा, वीरगञ्ज, धनगढी, डडेलधुरा, लहानलगायत शाखाहरूले विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम, र्याली तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरेका थिए। “स्मार्ट मनी टक्स” नारासहित सञ्चालन गरिएका कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ।
कार्यक्रमहरूमा बचत, कर्जा, लगानी, विद्युतीय बैंकिङ सेवा, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा वित्तीय ठगीसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। साथै नेपाल राष्ट्र बैंक लगायत संस्थाद्वारा आयोजित प्रभातफेरी तथा वित्तीय साक्षरता कार्यक्रमहरूमा पनि बैंकले सक्रिय सहभागिता जनाएको जनाएको छ।
यसै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। साथै बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्री तथा भिडियोहरू पनि प्रसारण गरेको जनाएको छ।
“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा तथा करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।















