महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच सीमा–पार भुक्तानी सेवा विस्तारको सम्झौता
वि.सं.२०८२ साउन १८ आइतवार ११:३४
shares

काठमाडौं, १८ साउन । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको प्रतिष्ठित वित्तीय संस्था एचडीएफसी बैंक बीच सीमा–पार भुक्तानी सेवा प्रवद्र्धन गर्ने उद्देश्यले औपचारिक समझदारी भएको छ। उक्त सम्झौतासँगै भारतबाट नेपालमा रकम पठाउने प्रक्रिया सरल, छरितो र प्रविधिमैत्री हुने बैंकले जनाएको छ।
समझदारी अनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा रकम पठाउने प्रणाली सञ्चालनमा ल्याउने पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्रक्रियागत तयारी र परीक्षण कारोबारहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
यस सम्झौताको प्रभावकारिताका लागि महालक्ष्मी विकास बैंकले अब एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सिस्टमको पहुँच प्राप्त गरेको छ। जसअन्तर्गत चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवा उपलब्ध हुनेछन्। अब भारतमा रहेका व्यक्तिहरू वा संस्थाहरूले नेशनल इलेक्ट्रोनिक फन्ड ट्रान्सफर रियल टाइम ग्रस सेटलमेन्ट र अन्य फन्ड ट्रान्सफर विधिहरूमार्फत नेपालमा रहेका महालक्ष्मी बैंकका खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।
त्यसैगरी, भारतका अन्य बैंकहरूको चेकसमेत जम्मा गरेर नेपालमा पैसा पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ। बैंकका अनुसार, यो सहकार्यले नेपाल–भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सीमा–पार व्यापार तथा रेमिट्यान्स कारोबारमा संलग्न ग्राहकहरूलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नेछ।
महालक्ष्मी विकास बैंकले डिजिटल सेवा विस्तार र नवप्रवर्तनमा पनि निरन्तर अग्रसरता देखाउँदै आएको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्ड को सुविधा थपेको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै बैंकले हालसम्म १०३ शाखामार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ। एचडीएफसी जस्तो प्रतिष्ठित बैंकसँगको सहकार्यले बैंकको अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।



















