पश्चिम सेती र सेती नदी–६ आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई
वि.सं.२०७९ भदौ २ बिहीवार २२:२१
shares

काठमाडौं, २ भदौ । सरकारले जलाशययुक्त पश्चिम सेती र सेती नदी ६ आयोजना बनाउने अनुमति भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिएको छ । १ हजार २ मेगावटा क्षमतको विद्युत उत्पादनका हुने आयोजनाका निर्माणका लागि बिहीबार सम्झौता भएको हो ।
सुदूरपश्चिम प्रदेशको डडेलधुरा, डोटी, अछाम, बैतडी र बझाङ जिल्लामा निर्माण हुने आयोजना अन्तर्गत पश्चिम सेती आयोजनाबाट ७५० र सेती नदी ६ बटा ४५० मेगावाटको विद्युत उत्पादन गर्ने गरी सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा परियोजनाको बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने अनुमति भारतीय सरकारी कम्पनी एनएचपिसी लिमिटेडलाई दिइएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा दुवै आयोजनाको डिपिआर बनाउन अनुमति दिने सम्झौता पत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभय कुमार सिंहले हस्ताक्षर गरेका छन् । लगानी बोर्ड नेपाल र एनएचपिसी बीच सम्झौता भएसँगै बोर्डले एनएचपिसीलाई दुवै आयोजनाको सर्वेक्षण अनुमति प्रदान गरेको छ ।
यस अगाडी सन् १९९० मा नेपाल सरकार र अस्ट्रेलियन कम्पनी स्मेक बीच पश्चिम सेती जलविद्युत आयोजनामा बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा सम्झौता भए पनि आयोजना निर्माण भने भएको थिएन । यस्तै, पश्चिम सेती बनाउने विषयमा चिनियाँ कम्पनी सिटिजिआईसँग सम्झौता भएपनि आयोजना निर्माण भने भएको थिएन ।

















