Dhulikhel Eco Banner new

ईङवा हाइड्रोपावर आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

4.3K
shares

काठमाडौं, १३ वैशाख । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । हाइड्रोपावरले आयोजना प्रभावित र वैदेशिक रोजागरीमा गएकाहरुलाई बाँडफाँट गरेपछि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । सोमध्ये आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आजदेखि १७ गतेसम्म आईपीओ भर्न सकिने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।