Dhulikhel Eco Banner new

प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोपावरको शेयर बिक्रीमा, सबैले किन्न पाउने

2.46K
shares

काठमाडौं, ७ साउन । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्ने गरी आवेदन खुलाएको हो। यसमा साउन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा राखेको हो।

आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था रहेको छ। यसर्थ घटीमा पनि १० हजार रुपैयाँ लाग्नेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ, संस्था लगायत सबैले आवेदन दिन सक्नेछन्।

उपत्यकामा हुनेले आवेदन फाराम बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

उपत्यका बाहिर हुनेले ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगंज, हेटौंडा, नारायणगढ, नूरोड–पोखरा, मिलनचोक–बुटवल, बाग्लुङ, त्रिभुवनचोक–नेपालगंज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमध्ये आफूलाई पायक पर्ने शाखाबाट प्राप्त गर्न सक्नेछन्।