Dhulikhel Eco Banner new

९० दिनभन्दा कम सञ्चालन हुने उद्योगको संख्या १५ प्रतिशत

5.17K
shares

काठमाडौं, २४ असार । देशभर सञ्चालनमा रहेकामध्ये १५ प्रतिशत उद्योगहरु ९० दिन भन्दा कम समय मात्रै सञ्चालनमा आएको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजामा १५ प्रतिशत उद्योगहरु ९० दिन पनि सञ्चालन नभएको देखिएको हो ।

विभागको तथ्यांक अनुसार चारवटै औद्योगिक प्रतिष्ठानहरुमध्ये करिब ७६ प्रतिशत उद्योगहरुले २७० दिन वा सो भन्दा बढी दिन संचालन भएको देखिएको छ । यसैगरी १९ प्रतिशत उद्योग प्रतिष्ठानहरु १८०–२६९ दिन, ४ प्रतिशत उद्योग प्रतिष्ठानहरु ९०–१७९ र बाँकी १५ उद्योग प्रतिष्ठानहरु ९० भन्दा कम दिन संचालन भएको देखिएको छ ।

त्यस्तै औद्योगिक प्रतिष्ठानहरुमध्ये करिब चालीस प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको देखिएको छ । तथ्यांक विभाको सर्वेक्षण अनुसार चारवटै औद्योगिक प्रतिष्ठानहरु मध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन पूर्ण क्षमता उपयोग गरेको देखिएको हो ।

विभागको सर्वेक्षण नतिजा अनुसार १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५–४९ प्रतिशत र बाँकीले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिएको छ ।

उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नहुनुको कारणमा बजार तथा मागको कमी, स्रोतकमी लगायत कारण रहेको देखिएको छ । बजार वा मागको कमीका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपार्यप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत, सीपमुलक कामदारको अभावका कारण ८ प्रतिशत उद्योग प्रतिष्ठानहरुले आफ्नो क्षमता अनुसार सञ्चालन हुन नसकेको देखिएको छ ।

लकडाउनको समयमा प्रतिष्ठानहरुको संचालन अवस्थास् कोभिड–१९ को महामाराका समयमा सरकारले गरेको करिव ४ महिनाको लकडाउन अवधिमा करिब ३४ उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणको नतिजा अनुसार जम्मा ६० हजार १८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका छन् । ति मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठानहरु रहेका छन् ।