४८ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता
वि.सं.२०७९ असार २८ मंगलवार १८:१४
shares

काठमाडौं, २८ असार । चालू आर्थिक वर्षमा ४८ अर्बभन्दा बढीको वैदेशिक लागनी प्रतिवद्धता प्राप्त भएको छ । वैदेशिक लगानी स्वीकृत गर्ने उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार २८ गतेसम्म ४८ अर्ब २ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
जुन अघिल्लो आर्थिक वर्षकोभन्दा ४९.७२ प्रतिशले बढी हो । अघिल्लो वर्ष ३२ खर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक लागनीको प्रतिवद्धता आएको थियो । यो तथ्यांक तीन वर्ष यताकै उच्च रहेको विभागको तथ्यांकले देखाएको छ । नेपाललाई प्राप्त भएको लगानी प्रतिवद्धता अधिकांश सेवा क्षेत्र र पर्यटन क्षेत्रमा आएको छ ।
विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो भने आ.व २०७५/०७६ मा २५ अर्ब ४८ करोड रुपैयाँको मात्रै प्रतिवद्धता आएको थियो ।
यस्तो प्रतिवद्धता आ.व २०७४/७५ मा भने ५५ अर्ब ७६ करोडको रहेको थियो । पछिल्लो दु्ई वर्षको अवधिमा कोरोनाका कारणले समेत वैदेशिक लगानीमा असर गरेको थियो । कोरोना संक्रमण दर घटेसँगै चालू आर्थिक वर्षमा लगानी प्रतिबद्धता बढ्न गएको हो । चालु आर्थिक वर्षमा २६० वटा परियोजना सञ्चालन गर्ने प्रतिवद्धता आएको छ ।
२६० परियोजनामध्ये ४ वटा ठूला, ५८ मध्यमस्तर १९८ साना परियोजना छन् । यीमध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा ८८ परियोजनाको लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । यी परियोजनामा ४ हजार ४ सय ८८ जनाले रोजगारी पाउने उल्लेख छ ।
त्यस्तै पर्यटन क्षेत्रका लागि १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । उत्पादनमूलक उद्योगमा ६ अर्ब ९६ करोड, पूर्वधारमा १ अर्ब ४० करोड, आइसीटीमा आधारित उद्योगमा ४७ करोड, उर्जामा ५ करोड ६२ लाख र कृषि र वनजन्य उद्योगमा ६० करोडको लगानीको प्रतिबद्धता आएको छ ।
लगानीको प्रतिवद्धता आएको परियोजनामध्ये अधिकांस चीनबाट आएका छन् । चीनबाट २०३ वटा परियोजनाको लागि ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । दोस्रोमा भारत रहेको छ । जहाँबाट १२ वटा आयोजनाका लागि २ अर्ब ४६ करोडको प्रतिबद्धता आएको छ ।













