मेलम्ची खानेपानी आयोजना : पुनः निर्माण कार्य ठप्प, वर्षमा दुई महिना मात्रै पानी वितरण
काठमाडौंबासीले थप प्रतिक्षा गर्नु पर्ने
वि.सं.२०७९ भदौ ९ बिहीवार १३:१९
shares

काठमाडौं, ९ भदौ । २०७७ सालको चैत महिनामा मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारियो । निकै लामो समयको प्रतिक्षापछि काठमाडौंका स्थानीयले मेलम्चीको पानी उपत्यकामा आए पछि निकै खुसी व्यक्त गरे । पानीको समस्या भोग्दै आएका काठमाडौंबासीका लागि यो निकै खुसीको कुरा पनि थियो । पानीको समस्या समाधान हुने आशामा रहेका स्थानीयको खुसी धेरै समय टिक्न सकेनन् ।
२०७७ सालको चैत २० गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याईयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन समेत गरिन् । अस्थायी रुपमा काठमाडौंमा ल्याइएको पानी स्थायी रुपमा आउन सुरु नहुँदै २०७८ सालको असार महिनामा आएको पहिरोले आयोजनाको मुहानमा क्षति पु¥यायो । त्यस पछि छोटो अवधिमै काठमाडौं पानी आउन बन्द भयो । चैत महिनामा काठमाडौंमा आएको मेलम्चीको पानी तीन महिना मै रोकियो । त्यस पछि पुनः मर्मत गरेर पानी काठमाडौं ल्याए पछि त्यो दुई महिनाका लागि मात्रै भयो ।
बाढीले आयोजनामा क्षति गरे पछि त्यसलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्रयास गरियो र चैतमा पानी सुरुङमा पठाइयो पनि तर जेठमा बन्द गरियो । यो वर्ष पनि बाढीका कारणले अवस्था त्यस्तै हुने सम्भावना रहेको देखिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताए ।
अघिल्लो वर्ष मनसुन सकिए पछि मर्मत गरेर पुनः २०७८ को चैत महिनामा काठमाडौंमा मेलम्चीको पानी ल्याइयो । तर जेठ १९ गतेदेखि पुनः बन्द भयो । मनसुन सुरु भएका कारण जेठ १९ गतेबाट सुरुङमा पानी पठाउने कार्य बन्द भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिए । अहिले पनि मेलम्ची नदिमा बाढी आइरहेकाले पानी पठाउने कार्य रोकिएको सूचना अधिकारी पन्तले जानकारी बताए ।
‘खोलाको तिरै तिर बाटो थियो, अहिले बाटो कहाँनेर हो भन्ने छुट्याउनै समस्या भइरहेको छ, आयोजनाको मुहानसम्म जानका लागि सडक तथा पुल समेत फेरि बनाउनु पर्ने अवस्था छ,’ उनले भने– ‘सुरुमा पनि काठमाडौं ल्याइएको पानी अस्थायी रुपमा नै आएको हो, अब पनि अस्थायी रुपमा नै पानी पठाउने हो, स्थायी रुपमा पानी ल्याउनका लागि पुनः अध्ययन गरेर काम गर्नु पर्ने हुन्छ ।’
बर्षाका कारण अहिले कुनै पनि काम हुन नसकेको सूचना अधिकारी पन्तले जानकारी दिए । अहिले पनि खोलामा बाढी आइरहेको छ, त्यहाँ जान सकिएको छैन्, त्यहाँ जानका लागि बाटोसमेत नभएको उनको भनाइ छ । खोलामा बाढी रोकिए पछि बाटो तथा पुल निर्माण गरेर काम सुरु भए पछि मात्रै कति समयमा पानी काठमाडौं पठाउन सकिन्छ भन्ने एकिन हुने उनले बताए ।
खोलामा धमिलो पानी आउन बन्द भएपछि मात्रै पानी टनेलमा पठाइने उनले जानकारी दिए । आयोजनाको काम अन्तिम चरणमा रहेको समयमा आएको बाढीले क्षेति गर्दा आयोजनाको लागत समेत बढ्ने र समयमा उपत्यकाका स्थानीयले पानी प्रयोग गर्न नपाउने अवस्था आएको उनले बताए ।
अहिलेसम्म आयोजनाको पाइप विछ्याउने काम बाहेक मात्रै ३२ अर्ब रुपैयाँ खर्च भइ सकेको छ । पाइप विछ्याउने कार्यमा पनि करिब ३० अर्ब खर्च भइसकेको सूचना अधिकारी पन्तको भनाइ छ । यसरी हेर्दा सुरुमा १७ अर्बको लागतमा निर्माण सम्पन हुने अनुमान गरिएको आयोजनामा अहिलेसम्म ६० अर्बभन्दा बढीको खर्च भइसकेको छ ।
स्थायी रुपमा पानी ल्याउन पुनः अध्ययन गर्नु पर्ने
स्थायी रुपमा नियमित पानी काठमाडौं ल्याउनका लागि पुनः अध्ययन गर्नु पर्ने अवस्था देखिएको छ । ‘अहिले पठाउने भनेको अस्थायी रुपमा हो, पहिले ल्याएको पनि अस्थायी रुपमा हो, अब स्थायी रुपमा पानी ल्याउनका लागि भने छुट्टै अध्ययन गर्नु पर्छ,’ सूचना अधिकारी पन्तले भने– ‘अध्ययन गरे पछि थाहा हुन्छ कति समय लाग्छ र कहाँनेर बनाउने भनेर त्यसपछि मात्रै जानकारी हुन्छ ।’
अहिले अध्ययनको काम भइरहेको पनि उनले जानकारी दिए । आयोजना निर्माणको जिम्मा पाएको कम्पनीले निर्माण पुरा नगर्दै आयोजनामा क्षति पुगेकाले निर्माण कम्पनीले नै बाँकी काम गर्नु पर्ने हुन्छ । आयोजनाको क्षतीको जोखिम बहन गर्नका लागि बीमा गरिएको हुन्छ र सोही बीमाबाट रकम ल्याए पुनः निर्माणको कार्य गरिने पन्तको भनाइ छ ।
सिन्धुपाल्चोकको हेलम्बुदेखि काठमाडौंको सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङबाट काठमाडौंमा पानी ल्याउने काम गरिएको थियो । मेलम्चीको पानी ल्याउनका लागि वि.स २०४१ सालमा अध्ययन सुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले यो आयोजनाको २०४८ सालमा घोषणा गरेका थिए । यो आयोजना सम्पन गरेर दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने लक्ष्य अनुसार काम सुरु भएको थियो ।
आयोजना निर्माणको घोषाणा पछि २०५२ सालमा मलम्ची खानेपानी लिमिटेड गठन गरियो । पछि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर २०५८ सालमा आयोजनाको काम सुरु गरिएको थियो । सुरुङ खन्ने काम २०६६ सालदेखि सुरु गरिएको थियो ।
२० वर्ष पछि आएको पानी तीन महिनामै रोकियो
निकै तामझामका साथ आयोजना सुरु भएको २० वर्ष पछि काठमाडौंको सुन्दरीजलमा पानी आयो । तर त्यो पानी आएको खुसी ३ महिना पनि टिकेट । २०७७ चैत महिनामा सुन्दरीजलमा झारीएको पानी २०७८ को असारदेखि आउन बन्द भयो ।
पछि पुनः निर्माण गरेर २०७८ को चैत देखि २०७९ को जेठ १९ गतेसम्म आयो र फेरि बन्द गर्नु पर्ने अवस्था आयो । आयोजनामा क्षति पुग्दा काठमाडौंमा खानेपानीको आपूर्तीमा देखिएको दबाब भने कायम रहन पुगेको छ ।
मेलम्चीको पानी आउँदा पनि १६ करोड लिटर पानीको अभाव
मेलम्चीको पानी काठमाडौं उपत्यकामा आएको खण्डमा पनि दैनिक १६ करोड लिटर पानीको अभाव हुने देखिन्छ । काठमाडौं उपत्यकामा अहिले दैनिक रुपमा पानीको माग ४३ करोड लिटर रहेको छ । तर मनसुनको समयमा १७ कराड र सुख्खा याममा १० करोड लिटर मात्रै पानीको आपूर्ती हुने गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश कुमार राईका अनुसार सुख्खा समयमा १६ करोड लिटर र मनसुनको समयमा ९ करोड लिटर पानीको अभाव हुन्छ । अहिले मनसुनको समयमा दैनिक १६–१७ करोड लिटर पानीको आपूर्ती भइरहेको छ । तर उपत्यकामा दैनिक रुपमा ४३ करोड लिटर पानीको माग रहेको छ । यदि मेलम्चीको पानी काठमाडौंमा आएको खण्डमा पनि बर्षाको समयमा ३४ करोड लिटर पानीको आपूर्ती हुने र माग अनुसार अझै ९ करोड लिटर अभाव हुने प्रवक्ता राईले बताए ।
खानेपानीको आपूर्तीका लागि विकल्पका रुपमा हेरिएको मेलम्ची खानेपानी आयोजनामा क्षेती हुँदा पानीको आपूर्तीमा देखिएको दबाब कायमै रहको उनको भनाइ छ । प्रवक्ता राईका अनुसार सुख्खा समयमा भने दैनिक १६ करोड लिटर पानीको अभाव हुने छ । ‘सुख्खा याममा उपत्यकामा दैनिक १० लाख लिटर मात्रै पानीको आपूर्ती हुने तर माग भने ४३ करोड लिटर नै हुने भएकाले त्यो समय पानीको अभाव अझ धेरै हुन्छ,’ उनले भने ।
हेडवक्सको स्थान परिवर्तन गर्नु पर्ने
अहिले निर्माण भएको हेडवक्समा क्षेती पुगे पछि अहिले पानी पठाउन समस्या भएको मेलम्ची खानेपानी विकास मितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तको भनाइ छ । अहिले अस्थायी रुपमा पठाउने मात्रै हो । तर स्थायी रुपमा पानी पठाउनका लागि र बाढीले पनि क्षती नपुग्ने गरी बनाउनका लागि हेडवक्सको स्थान नै सार्नु पर्ने उनले बताए ।
‘हेडवक्स सार्नका लागि पनि अध्ययन गर्नु पर्ने हुन्छ, अध्ययन गरेर प्रतिबेदन आए पछि मात्रै कहाँ बनाउने लागत कति लाग्छ र कति समयमा सम्पन्न हुन्छ भन्ने जानकारी हुन्छ,’ उनले भने ।



















