Dhulikhel Eco Banner new

काम सक्न ढीला नगर्नुस्, समय थपमा सरकार कठोर बन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

5.15K
shares

काठमाडौं, ३ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको काम चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ बुटवल सडक विस्तार आयोजनाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा मंगलबार आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सो सडक चाँडो निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

अहिलेको गतिमा काम जारी रहदा निर्धारीत समयमा काम नसकिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले कामको गति बढाउनका लागि निर्देशन दिएका हुन् । ‘अहिलेकै अवस्थामा निर्धारित मितिमा सडक निर्माणको काम सक्ने कुनै पनि आधार देखिएन,’ मन्त्री श्रेष्ठले भने, ‘सरकारले थप गरेको समयसम्म तपाईंहरुले आधा काम सक्नुहुन्छ ?’ निर्माण कम्पनीले आगामी अगष्टसम्म आधा काम सक्छौँ भनेर प्रतिबद्धता जनाएको भए पनि त्यो आफूले सम्भव नदेखेको मन्त्री श्रेष्ठको भनाइ छ ।

हालसम्म आयोजनाको २३ प्रतिशत काम मात्रै सकिएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले अगष्टसम्म आधा काम नसके समय नथपिने पनि बताए । यस सडकमा यात्रा गर्ने यात्रु तथा स्थानीयले धूलोका कारण दुःख पाएका भन्दै मन्त्री श्रेष्ठले निर्माणको काम चाँडो सम्पन्न गर्न आग्रह गरे । ‘सडक विस्तारको काम भइरहदा यहाँ धेरै धूलो उडेको छ, स्थानीय आजित भएका छन्,’ मन्त्री श्रेष्ठले भने, ‘निर्माणको काम चाँडै गर्नूस् होइन भने सरकार कठोर बन्छ ।’

नारायणगढ बुटवल सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका नेपाल प्रतिनिधि सु यानले सडक निर्माणमा विभिन्न कारणले ढिलाइ भएको बताए । ‘पहिले कोभिड र तरलता अभाव हुँदा काम गर्न ढिलाइ भएको थियो,’ यानले भने, ‘अहिले गृहमन्त्रालयको निर्णयले क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको छ ।’

सडक विस्तारको काम तीव्र गतिमा गर्न पाए आगामी अगष्टसम्म आधा काम सक्ने भन्दै यानले त्यसका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने बताए । छलफलका क्रममा कर्पोरेसनका टिम लिडर क्वाङ सिक पार्कले सडक विस्तारमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए । उनका अनुसार हालसम्म सडक विस्तारको काममध्ये करिब २३ प्रतिशत काम सम्पन्न भएको छ ।