Dhulikhel Eco Banner new

मर्जरको चटारोमा बीमा कम्पनीहरु, दुई दिनमा मर्जर सम्झौता नगरे सुविधा नपाउने

5.89K
shares

काठमाडौं, ३१ असार । बिहीबार महालक्ष्मी लाईफ इन्सोरेन्स र प्रभु लाईफ इन्सोरेन्सबीच मर्जरमा जाने सम्झौता भयो । बुधबार मात्रै पनि सानीमा लाईफ र रिलायन्स लाईफ इन्सोरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको थियो । केही समय अघिमात्रै ज्योती लाईफ इन्सोरेन्स र सूर्या लाईफ इन्सोरेन्स तथा युनियन, प्राइम र गुराँस लाईफ इन्सोरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भइसकेको छ ।

यि कम्पनी मात्रै होइन अहिले अन्य बीमा कम्पनीहरुलाई पनि मर्जर सम्झौताको चटारो रहेको छ । उपयुक्त सहयात्री खोजेर मर्जरमा जाने विषयमा सबै बीमा कम्पनीहरुले छलफल गरिरहेका छन् । बीमा समितिले दिँदै आएको पुँजीगत लाभ कर र लाभांस करको सुविधा नदिने भनिसकेको अवस्थामा बीमा कम्पनीहरु मर्जरको लागि दौडधुपमा रहेका छन् ।

चालू आर्थिक वर्ष सकिनका लागि अब केही समय मात्रै बाँकी रहेको छ । अन्तिम समयमा गर्ने परिपाटी नेपालीहरुको संस्कृति नै बनिरहेको अवस्थामा मर्जरका विषयमा बिमा कम्पनीहरुको दौडधुप निकै मात्रामा बढीरहेको छ । सकेसम्म तोकिएको समयमा मर्ज भएर सेवा सुविधा पनि लिने नभए पनि पुँजी वृद्धिका लागि भए पनि मर्जरमा जाने विषयमा समेत बीमा कम्पनीहरु बीच छलफल भइरहेको छ ।

सरकारले ल्याएको आर्थिक अध्यादेश २०६७ देखि बीमा कम्पनीहरू मर्जरमा गएमा २ वर्ष शेयरधनीहरूले शेयर बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर र लाभांश करमा छुट दिने व्यवस्था गरिएको थियो । तर सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त छुटलाई निरन्तर्ता नदिए पछि बीमा कम्पनीहरुले उक्त छुट पाउनका लागि २०७९ सालको असार मसान्तसम्म मर्जरको सम्झौता गरेर २०८० असार मसान्तभित्र संयुक्त कारोबार गर्नु पर्नेछ ।

अहिले बीमा कम्पनीहरुको लागि सम्झौता गरेर नियमनकारी निकायमा जानकारी दिएर सो सुविधा उपभोग गर्ने अन्तिम मौका रहेको छ । निर्धारीत समयभन्दा पछि मर्जर भएर आएमा त्यस्तो सुविधा नपाइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले जानकारी दिए । अहिले पनि धेरै कम्पनीहरु मर्जरका लागि छलफलमा रहेका छन् । उनीहरु आज र भालीमा मर्जर सम्झौता गरेर सुविधा लिन योजनामा रहेका छन् ।

केही बीमा कम्पनीको मर्जर सम्झौताको विषयमा जानकारी आइसकेको र अरुको पनि मर्जरका विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘कर छुट सहितको सुविधा पाउनका लागि पनि मर्जर सम्झौता हुनु पर्ने र अन्यथा कम्पनीहरुले सुविधा पाउँदैनन्,’ उनले भने ।

पौडेलका अनुसार बिहीबारसम्म ज्योती र सूर्या, युनियन, प्राइम र गुराँस, सानाीमा र रिलायन्स लाईफ इन्सोरेन्स तथा प्रिमियर र सिद्धार्थ इन्सोरेन्स, सगरमाथा जनरल र लुम्बिनी जनरल इन्सोरेन्स कम्पनीहरुले मर्जर सम्झौताका विषमा समितिलाई जानकारी दिएका छन् । त्यस्तै हिमालयन र एभरेष्ट जनरल इन्सोरेन्स तथा सानी जनरल र जनरल इन्सोरेन्स कम्पनीले मर्जर सम्बन्धी जानकारी दिएका छन् ।

समितिले चुक्ता पुँजी जीवन बीमा कम्पनीको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । यसका लागि समितिले मर्जरलाई पहिलो प्राथमिकता दिएको छ । बीमा कम्पनीहरुले २०८० को असार मसान्तसम्म यो चुक्ता पुँजी पुर्‍याउनु पर्ने छ ।

यता सिटिजन लाईफ इन्सोरेन्सका सीईओ पोसक पौडेले भने सुविधाका लागि भन्दा पनि आवश्यकताका लागि मर्जरमा जाने बताए । ‘सुविधाका विषयमा हामी जानकार छौँ, अहिले मर्जरमा गएका कम्पनीहरु पनि आवश्यकताको आधारमा मर्जरमा गएका हुन,’ उनले भने । सिटिजनले अर्को महिनामा मात्रै मर्जरका विषयमा छलफल गर्ने उनले बताए ।

बीमा कम्पनीहरुले दिने प्रतिफल निकै कम भएका कारण पुँजी वृद्धिको योजना अगाडि ल्याइएको र यसले बिमितलाई फाइदा पुग्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउँदै आएका छन् ।