निर्देशिका विपरित शेयर संरचना परिवर्तन गर्दै ज्योति लाइफ
ज्योति लाईफको एजेण्डा नम्बर ३ : यसरी उडाइदैछ नीति नियमको धज्जी
वि.सं.२०७९ साउन ७ शनिवार ०८:२३
shares

काठमाडौं, ६ साउन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशिका विपरित शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव सधारणसभामा लाने भएको छ । संस्थापक शेयर बिक्री सम्बन्धी निर्देशिकामा एक आर्थिक वर्षमा बढीमा १० प्रतिशतमात्रै शेयर संरचना परिवर्तन गर्न पाउने स्पष्ट व्यवस्था छ ।
निर्देशिका अनुसार एक पटकमा १० प्रतिशत मात्रै संस्थापक शेयर परिवर्तन गर्न पाइने भए पनि ज्योति लाईफले आगामी साधारण सभामा १९ प्रतिशत संस्थापक शेयर परिवर्तनको प्रस्तावलाई एजेण्डाको रुपमा राखेको हो ।
कानुनी व्यवस्थालाई ठाडै चुनौती दिएर कम्पनीले पोखरामा आयोजना गर्ने लागेको विशेष साधारण सभाको एजेण्डा नम्बर ३ मा अहिले कायम रहेको ७०ः३० को शेयर अनुपातलाई ५१ः४९ कायम गर्ने प्रस्ताव गरेको छ । अहिले संस्थामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत प्रब्लिक शेयर रहेको छ । आगामी साधारण सभाबाट प्रस्ताव पास भएको खण्डमा अब संस्थापक शेयर ५१ प्रतिशत र पब्लिक शेयर ४९ प्रतिशत कायम हुने छ ।
बीमा कम्पनीको संस्थापक शेयर बिक्री सम्बन्धी निर्देशिकाको दफा ५ को उपदफा ४ मा यस्तो भनिएको छ–‘संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारणको रुपमा परिवर्तन गर्दा पुँजी बजार, बीमा व्यवसायको स्थिति लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत विचार गरी एक आर्थिक वर्षमा बढीमा १० प्रतिशतसम्म गर्न सकिने छ ।’ तर ज्योतिले यो कानुनी व्यवस्थालाई नै चुनौती दिने गरि प्रस्ताव राखेको छ ।
यतिमात्रै होइन कम्पनीले साधारणसभाको म्याडेट बिनै मर्जर सम्झौता समेत गरेको छ । मर्जर सम्बन्धी निर्णय गर्ने अख्तियारी नै नपाई सञ्चालक समितिले आफूखुसी मर्जर सम्झौता गरेको पाइएको हो ।
मर्जर सम्बन्धी निर्णय गर्न साधारणसभाले सञ्चालक समितिलाई पहिले अख्तियारी दिनुपर्ने हुन्छ । साधारणसभाले अख्तियारी नदिई सञ्चालक समितिले आफूखुसी निर्णय गर्न नपाउने कानूनी व्यवस्था छ । संस्थाको सबैभन्दा ठूलो निर्णय गर्ने साधारणसभालाई नै अपमान हुने गरी ज्योति लाइफले मर्जर सम्झौता गरेको पाइएको हो । उता सूर्या लाइफले समेत यस्तै बद्मासी गरेको छ ।
नियामक निकाय बीमा समितिलाई नै केही समय अघि सूर्या लाइफसँग यस कम्पनीको मर्जर सम्झौता गरेको थियो । सुरुमा नियामक निकायलाई नै झुक्याउने गरी सम्झौता गरेका यी दुबै कम्पनी नियामकीय ठण्डामा पर्ने भएपछि भने हत्त न पत्त साधारणसभा बोलाएको छ ।
आगामी साधारणसभाको विशेष प्रस्तावमा भने मर्जर सम्बन्धी प्रस्ताव उल्लेख गरिएको छ । यस विषयमा कुरा गर्न ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।



















