Dhulikhel Eco Banner new

सूर्या लाइफको मर्जर सम्झौता नै गैरकानूनी

सीईओ भन्छन्– कम्पनी ऐन अनुसार काम गरेका छौं

12.38K
shares

काठमाडौं, २ साउन । सूर्या लाइफ इन्स्यारेन्सले ज्योति लाइफ इन्स्यारेन्ससँग गरेको मर्जर सम्झौता नै गैर कानूनी भएको पाइएको छ । मर्जर सम्बन्धी निर्णय गर्ने अख्तियारी नै नपाई सञ्चालक समितिले आफूखुसी मर्जर सम्झौता गरेको पाइएको हो ।

मर्जर सम्बन्धी निर्णय गर्न साधारणसभाले सञ्चालक समितिलाई पहिले अख्तियारी दिनुपर्ने हुन्छ । साधारणसभाले अख्तियारी नदिई सञ्चालक समितिले आफूखुसी निर्णय गर्न नपाउने कानूनी व्यवस्था छ । संस्थाको सबैभन्दा ठूलो निर्णय गर्ने साधारणसभालाई नै अपमान हुने गरी सूर्या लाइफले मर्जर सम्झौता गरेको पाइएको हो ।

नियामक निकाय बीमा समितिलाई नै केही समय अघि सूर्याले ज्योतिसँग मर्जर सम्झौता गरेको थियो । सुरुमा नियामक निकायलाई नै झुक्याउने गरी सम्झौता गरेको सूर्या लाइफ नियामकीय ठण्डामा पर्ने भएपछि भने हत्त न पत्त साधारणसभा बोलाएको छ । आगामी साधारणसभाको विशेष प्रस्तावमा भने मर्जर सम्बन्धी प्रस्ताव उल्लेख गरिएको छ ।

यो विषयमा संस्थाकै केही सञ्चालकहरु समेत असन्तुष्ट छन् । ‘पहिले साधारणसभामा प्रस्ताव लैजाने र अख्तियारी पाएपछि मात्रै मर्जर सम्झौता गर्ने हो, तर यहाँ त सम्झौता पछि साधारणसभा बोलाइएको छ’ संस्थाका एक सञ्चालकले भने, ‘बोर्डमा पनि केही खराब प्रवृतिका मान्छेको हालिमुहाली छ, सुझाव दियो भने पनि नकरात्मक बुझ्नुहुन्छ ।’

ति सञ्चालकका अनुसार साधारणसभाले अख्तियारी दिनुपर्छ भन्ने विषयमा सञ्चालक समितिको बैठकमा छलफल समेत भएको थियो । तर समय कम भएका कारण हतारहतारमा सम्झौता गरिएको उनले बताए । सूर्या लाइफले बल्ल साउन १९ गतेका लागि विराटनगरको होटल हैरिसन प्यालेसमा साधारणसभा बोलाएको छ ।

सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले पनि साधारणसभाबाट अख्तियारी नै नलिई मर्जर सम्झौता गरेको स्वीकार गरे । उनले कम्पनी ऐनलाई टेकेर यस्तो निर्णय गरेको बताएका छन् । बीमा ऐन र नियामक निकायलाई नै ठाडो चुनौती दिदै सूर्या लाईफले कम्पनी ऐनमा भएको व्यवस्था अनुसार मर्जर सम्झौता गरेको दावी गरेको छ ।

‘मर्जर सम्झौतामात्रै भएको हो, मर्जर भएको त होइन नि’ केटिएम भ्वाइससँगको कुराकानीमा सीईओ खड्काले भने, ‘पछि साधारणसभाले अनुमोदन गराउने गरी सम्झौता गर्न पाइने व्यवस्था कम्पनी ऐनमा छ ।’

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारी पहिले सञ्चालक समितिले सम्झौता गरेर साधारणसभाले अनुमोदन भए त समस्या नहुने बताउछन् । तर कतिपय अवस्थामा हतारमा सम्झौता गर्दा मर्जर भाडिएको उदाहरणहरु बैंकिङ क्षेत्रमा रहेको उनले बताए ।

केही समय हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जाने सहमति गरेका थिए । सञ्चालक समितिले निर्णय गरेर समझदारी पत्रमा हस्ताक्षर भए पनि पछि यी दुई बैंकहरुको साधारणसभाबाट भने मर्जर भाडिएको थियो ।