अन्योलमै सेयर बजार : लगानीकर्ता अझै मौद्रिक नीतिको पर्खाइमा
वि.सं.२०८३ असार ३ बुधवार १७:०६
shares

काठमाडौं। लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाली सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा पुग्दै कारोबार बन्द भएको हो। दिनभर न्यून उतारचढावबीच चलेको बजार अन्तिम समयमा आएको हल्का खरिद दबाबका कारण हरियो रहन सफल भएको छ।
कारोबार सुरु भएलगत्तै नेप्से करिब २ हजार ७१५ विन्दुसम्म पुगेको थियो। तर त्यसपछि बिक्री दबाब बढ्दै जाँदा बजार क्रमशः ओरालो लाग्यो। अन्तिम समयमा केही खरिद बढेपछि परिसूचक सामान्य अंकले सकारात्मक अवस्थामा बन्द भए पनि बजार अझै स्पष्ट दिशाविहीन अर्थात् ‘साइडवे’ प्रवृत्तिमै रहेको संकेत देखिएको छ।
बुधबार ३५२ कम्पनीका ८३ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको, १३१ कम्पनीको घटेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र बुङ्गल हाइड्रोपावर अग्रस्थानमा रहे। मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर उल्लेख्य रूपमा बढेका छन् भने एनएमबी डिबेञ्चर सबैभन्दा बढी घट्ने धितोपत्रमा परेको छ।
बजारमा पर्याप्त लगानीयोग्य रकम, घट्दो बैंक ब्याजदर र उच्च विदेशी मुद्रा सञ्चिति जस्ता सकारात्मक आर्थिक सूचकहरू रहे पनि त्यसको प्रभाव पुँजीबजारमा देखिन सकेको छैन। व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशतमा झरेको छ भने विदेशी विनिमय सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको अवस्था रहेको छ। तर यी सूचकहरूले लगानीकर्ताको मनोबल उकास्न सकेका छैनन्।
विश्लेषकहरूका अनुसार बजेटमार्फत पुँजीबजार सुधारका केही घोषणा भए पनि त्यसले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकेको छैन। सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व रिक्त रहनु, नीतिगत अस्पष्टता तथा स्वार्थ समूहको प्रभावबारे बढ्दो आशंकाले बजारमा दबाब कायम रहेको छ। पछिल्ला तीन महिनामा नेप्सेको बजार पुँजीकरण करिब ४ खर्ब रुपैयाँले घटेको अनुमान गरिएको छ।
यता करिब दुई महिनादेखि सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोकिँदा बोर्डका महत्वपूर्ण निर्णयहरू प्रभावित भएका छन्। आईपीओ स्वीकृति, नियमन तथा सुपरिवेक्षणका काम सुस्त बनेका छन् भने १०० भन्दा बढी कम्पनीका करिब ६९ अर्ब रुपैयाँ बराबरका आईपीओ आवेदन स्वीकृतिको प्रतीक्षामा रहेका छन्।
लगानीकर्ताहरूको ध्यान अहिले आगामी मौद्रिक नीतितर्फ केन्द्रित छ। असार मसान्त नजिकिँदै जाँदा बजारमा मनोवैज्ञानिक दबाबसमेत देखिएको छ। लगानीकर्ताहरू मौद्रिक नीतिबाट पुँजीबजारलाई राहत मिल्ने अपेक्षामा रहे पनि तत्काल सुधारका लागि सरकारको स्पष्ट नीति, सेबोनमा स्थायी नेतृत्व तथा नीतिगत स्थिरता आवश्यक रहेको बजार जानकारहरूको भनाइ छ।
प्राविधिक विश्लेषण पनि अझै सकारात्मक छैन
बुधबार सामान्य सुधार देखिए पनि नेप्सेको प्राविधिक अवस्था अझै बलियो बन्न सकेको छैन। बजारले माइनर सपोर्ट जोनबाट प्रतिक्रिया दिएको भए पनि माथिल्लो स्तरमा नयाँ उच्च (Higher High) बनाउन नसक्दा बजारको मनोविज्ञान कमजोर नै रहेको देखिन्छ।

कारोबारका क्रममा बजारले २०० दिने मूभिङ एभरेज (200MA) परीक्षण गरे पनि त्यसलाई पार गर्न सकेन। लगातार ११ कारोबार दिनसम्म दैनिक चार्टमा नयाँ उच्च क्यान्डल नबन्नुले बिक्री दबाब अझै कायम रहेको संकेत गरेको छ।
प्राविधिक सूचक आरएसआई (RSI) ३७ को स्तरमा झरेको छ भने एडीएक्स (ADX) ले बलियो ट्रेन्डको संकेत गरिरहेको छ। यद्यपि बजारले स्पष्ट रूपमा नयाँ उच्च क्यान्डल नबनाएसम्म लगानीकर्तामा रहेको नकारात्मक मनोविज्ञान हट्न कठिन देखिएको विश्लेषकहरूको भनाइ छ।
कारोबार रकमको प्रवृत्ति पनि बजारका लागि उत्साहजनक देखिएको छैन। हरियो दिनमा कारोबार घट्ने र रातो दिनमा बढ्ने क्रम दोहोरिनुले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता हाबी रहेको संकेत गरेको छ। बुधबारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही कम देखिएको छ।
दिनको सुरुआतमै बजारले न्यूनतम स्तर छोएको थियो भने मध्याह्नअघि उच्च बिन्दु बनाएपछि थप नयाँ न्यून स्तर भने बनेन। तर कारोबारको अन्तिम आधा घण्टामा ठूलो रकमसहित पुनः बिक्री दबाब देखिएको थियो।
ठूला ब्रोकरहरूको गतिविधिले पनि बजारमा सतर्कता बढाएको छ। शीर्ष १० ब्रोकरमध्ये ६ वटाले खरिदभन्दा बढी बिक्री गरेको तथ्यांकले पछिल्ला दिनहरूमा संस्थागत लगानीकर्ताले नाफा सुरक्षित गर्ने वा जोखिम घटाउने रणनीति अपनाइरहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।















