Dhulikhel Eco Banner new

युनियन लाईफको नाफा ९० प्रतिशतले घट्यो

6.38K
shares

काठमाडौं, ३१ साउन । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ९० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफामा ९०.२३ प्रतिशतले गिरावट आएको हो ।

इन्स्योरेन्सको अघिल्लो आवको अन्त्यसम्म १३ करोड ३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद नाफा १ करोड २७ लाख ३४ हजार ९१० रुपैयाँ रहेको छ । नाफा घटेसँगै कम्पनीको अभिकर्ता कमिशन समेत ३.८८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म युनियन लाइफ इन्स्योरेन्सले ११ अर्ब २७ करोड ४२ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको कोषको आकार अघिल्लो आवको तुलनामा ४७.२० प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिसम्म युनियन लाइफले ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँको जीवन बीमाकोष खडा गरेको थियो ।

कोषको आकार बढाउँदै सो अवधिसम्म युनियन लाइफ इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जनमा समेत सुधार गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ७ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तु्लनामा १५.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ६ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्क आर्जनसँगै कम्पनीको खुद दाबी भुक्तानी समेत बढ्न पुगेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ४६.९१ प्रतिशतले बढेर २ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ८.१० प्रतिशत घटेर ९६ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ९८ करोड २ लाख रुपैयाँ पुगेको छ ।