GBIME

विमान दुर्घटनामा परेकाहरुको बीमा भुक्तानीमा समस्या छैन : अध्यक्ष सिलवाल

972
shares

काठमाडौं, ३ माघ । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको परिवारलाई बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नरहेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नभएको बताएका हुन् ।

शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको अध्यक्ष सिलवालको भनाइ छ । प्रमाणको आधारमा बीमा दाबीमा कुनै समस्या नरहेको उनको भनाइ थियो ।

विदेशी नागरिकको शव पनि संकलन गरेर त्यसको पोष्टमार्टम गर्नुपर्ने र त्यसलाई विदेश पठाउने व्यवस्थालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।