GBIME

पुस महिनामा लक्ष्यको ६७ प्रतिशतमात्रै राजश्व संकलन

1K
shares

काठमाडौं, ३ माघ । आन्तिरिक राजश्व विभाग पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्नमा असफल भएको छ । विभागले पुस मसान्तसम्म लक्ष्यको ६७ प्रतिशतमात्रै राजश्व संकलन गर्न सकेको हो ।

पुस मसान्तमा आयकरको ४० प्रतिशत किस्ता उठ्ने गरेको छ । तर पनि सरकारको राजश्व लक्ष्य पुरा भने हुन सकेन । सरकारले पुस महिनामा १ खर्ब ६ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ७१ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । यो गत आर्थिक वर्षकोभन्दा १ अर्बले बढी हो । गत आर्थिक वर्षको पुस महिनामा ७० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

अन्तःशुल्क, मुल्य अभिवृद्धि कर (मुअकर) र आयकर लक्ष्य भन्दा निकै कम संकलन हुँदा समग्र राजश्व संकलनको लक्ष्य प्रभावित हुन पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजश्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब २२ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । विभागले गत वर्ष सोही अवधिमा २ खर्ब २५ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको सुरुदेखिनै सरकार राजश्व संकलनको लक्ष्यलाई भेटाउनका लागि नै संघर्ष गरिरहेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । त्यस्तै भदौ महिनामा पनि ३१ अर्ब ७१ करोडको लक्ष्य राखेकोमा २८ अर्र्ब ११ करोड रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी २९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिइएको असोजमा २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो । त्यस्तै कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको थियो । तर विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सक्यो । मंसिर महिनामा पनि विभागले लक्ष्यभन्दा २७ प्रतिशत कम राजश्व संकलन गर्न सक्यो । विभागले ३३ अर्ब २२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो तर २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकनल गर्न सकेको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब राजश्व संकलन गरेको विभागलाई चालु आर्थिक वर्षमा भने ६ खर्ब २६ अर्ब राजश्व संकलन गर्ने लक्ष्य दिइएको छ ।