GBIME

निर्जीवन बीमा कम्पनीको व्यवसाय २० अर्ब बढी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

1.3K
shares

काठमाडौं, २० माघ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८ रोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ५.१५ प्रतिशतले बढी हो । १८ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा २ अर्व ६५ करोड बराबरको बीमा शुल्क संकलन गरेको छ । जुन समग्र निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको १३.२१ प्रतिशत हो ।

त्यस्तै पुस मसान्तसम्म नेको इन्स्योरेन्सले १ अर्ब ५४ करोड बराबरको व्यवसाय गरेको छ । यस्तै हिमालयन एभरेष्टले १ अर्ब ५० करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ र सानिमा जिआईसीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कम्पनीको बीमाशुल्क अर्वभन्दा तल नै रहेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४९ करोड ४० लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २.४६ प्रतिशत हो ।

पुस मसान्तसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा उभ्याएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै १३७.९७ प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पु¥याएको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क पनि २५.०५ प्रतिशतले बढेर ९७ करोड १९ लाख रुपैयाँ पुगेको छ । अजोड इन्स्योरेन्सको १४.२३ प्रतिशत, सानिमा जिआईसीको ९.६९ प्रतिशत, आइएमई जनरलको ९.४४ प्रतिशत र शिखर इन्स्योरेन्सको ८.७९ प्रतिशतले बीमाशुल्क बढेको छ ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । एनएलजीको बीमाशुल्क ०.२८ प्रतिशतले मात्रै बढाएको छ । कम्पनीले पुस मसान्तसम्म १ अर्ब २० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको यही अवधिमा एनएलजीले १ अर्ब २० करोड ४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीमध्ये ६ वटा कम्पनीको व्यवसाय सस्किएको छ । पुस मसान्तसम्मको अवधिमा १२ वटा कम्पनीले व्यवसाय विस्तारमा फड्को मार्दा ६ कम्पनीको व्यवसायमा भने गिरावट देखिएको हो । यो अवधिमा युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको बीमाशुल्क घटेको छ ।

सबै भन्दा धेरै युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क ३२.७६ प्रतिशतले घटेर ५९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड २१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

यस्तै, सगरमाथा इन्स्योरेन्सको १३.३९ प्रतिशत, प्रुडेन्सियलको ३.३२ प्रतिशत, प्रिमियरको २.९८ प्रतिशत, नेकोको २.४० प्रतिशतले बीमाशुल्क घटेको छ । सबै भन्दा कम बीमाशुल्क घट्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.५४ प्रतिशतले घटेर ७९ करोड ३६ लाख रुपैयाँमा सीमित भएको हो ।