GBIME

‘आयात गरेको वस्तु बिक्री गरेर मात्रै अर्थतन्त्र चल्दैन, बलियो अर्थतन्त्र बन्नका लागि उत्पादन गर्नै पर्छ’

2.74K
shares

काठमाडौं, १२ मंसिर । आम चुनाव सकिएसँगै अव नेपाल उद्योग वाणिज्य महासंघको चुनावको रन्को सुरु भएको छ । आगामी चैतमा हुने महासंघको चुनावका लागि आकांक्षीहरु आम चुनाव अघि नै आन्तरिक तयारीमा रहेका थिए । आगामी नेतृत्व र वन पैदावार व्यापारको अहिलेको अवस्थाका विषयमा वनमा आधारीत उद्योग तथा व्यापार महासंघ नेपालका अध्यक्ष मञ्जित बाबु मास्केसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय वनमा आधारीत उद्योग तथा व्यापारको अवस्था के छ ?

हाम्रो व्यवसाय भनेको वन पैदावार व्यवसाय हो । यसको अवस्था भन्दा अहिले नाजुक रहेको छ । राज्यको नीतिका कारण पनि समस्या देखिएको छ । राज्यको नीति पटक पटक परिवर्तन हुने कारणले पनि समस्या भइरहेको छ ।

धेरै समय पछि वन ऐन, वन नियमावाली २०७९ आयो । यो नीतिका कारण काठको मूल्य वृद्धि हुने भयो । यसमा गोलाइ मापन सुत्र परिवर्तन भयो । पहिले क्वाटरगत प्रणाली भनेर नाप्ने गरिएको थियो । धेरै काठ उत्पादन हुने देशहरुमा पनि यो सिस्टम लागु छ । हाम्रोमा भने हुवर सुत्र ल्याइएको अवस्था छ । यसले काठको मूल्यमा प्रत्यक्ष असर पारेको अवस्था छ । यो सिस्टमबाट काठ काट्दा त्यसमा २७ प्रतिशतले वृद्धि हुने अवस्था आयो । यसरी बढ्ने भनेको काठको मूल्य समेत बढ्नु हो ।

४८ प्रतिशत वन भइसकेको हाम्रो देशमा वैज्ञानिक वन खारेज भएसँगै काठ उत्पादन शुन्य भएको अवस्था छ । पहिलेको सुत्रबाट कटान गर्दा १ हजार क्युफिट हुने गरेको थियो भने अहिलेको सिस्टममा काट्दा १ हजार २७० क्युफिट हुन्छ । १२७० क्युफिटको रकम तिर्दा मूल्य बढ्ने भयो ।
राज्यले विदेशी मुद्रा सञ्चितिको नीति लिएको भए पनि काठको निर्यातका विषयमा खासै चासो दिएको देखिदैन् । विदेशबाट काठ आयात भइरहेको नै छ । यसरी हेर्दा नीति र व्यवहारमा फरक परेको अवस्था छ ।

यो क्षेत्रका व्यवसायीहरुमा अन्य समस्याहरु के–के छन् ?

नीति नियमका अलावा काठको वैकल्पीक उपायहरु आउँदा खेरी पनि व्यवसायीहरु समस्यामा परेको अवस्था छ । काठको मूल्य बढ्दा अन्य वस्तुको पनि बजारमा प्रवेश हुने भयो । यसले पनि व्यवसायमा समस्या उत्पन्न भइरहेको छ ।

यसका साथै राज्यले पनि काठको मूल्य निर्धारण गरिदिनु पर्ने आवश्यकता रहेको छ । इन्धनको मूल्य निर्धारण गरे जस्तै काठको पनि मूल्य निर्धारण गरिदिएको खण्डमा सहज हुने थियो । यो पेशामा सुशासन भने छैन् । आफू खुसी मूल्य तोकिनु पनि समस्या नै हो ।

नेपालमा प्रसस्त मात्रामा काठ उत्पादन हुने भए पनि विदेशबाट आयात भइरहेको अवस्था पनि छ । आयात हुने काठ सबै कमसल भएका कारण पनि नेपाली व्यवसायीलाई समस्या भइरहेको छ । नेपाली काठ फाल्नु पर्ने अवस्था सिर्जना हुँदा पनि व्यवसायी मर्कामा परेको अवस्था छ । यसका साथै आल्मुनियमको प्रयोग बढेका कारण पनि व्यवसायीलाई समस्या नै छ ।

नेपालमा उत्पादन वृद्धि गर्नु पर्ने आवश्यकता छ जसले मूल्य पनि घट्छ र जसबाट व्यवसायी र उपभोक्ता दुवैलाई सहजता प्रादान हुन्छ ।

देशको आर्थिक अवस्थाले यो व्यवसायमा कस्तो असर पारेको छ ?

आर्थिक संकटले सबै क्षेत्रमा असर पुर्‍याएको छ । हामीलाई पनि यसले असर गरेको नै छ । ऋण लिनका लागि होस् वा ऋणको म्याद थप्नका लागि जाँदा समस्या भोग्नु नै परेको छ । मागेको समयमा पैसा नपाइने र समय पनि थप नहुने समास्या त जस्ताको त्यस्तै छ । व्यवसाय गर्नका लागि पैसा नभएपछि त समस्या हुनु स्वभाविक नै भयो ।

अर्थतन्त्रमा देखिएको समस्याले श्रमिक समेत घटाउनु पर्ने अवस्था सिर्जजना भएको छ । जनशक्ति घटाउँदा उत्पादन घट्ने भयो । अनि बजारमा त्यसको मूल्य बढ्न जाने भयो । वैज्ञानिक वन नीति लागु भएको समयमा केही सहज भएको थियो तर पछिल्लो सयम यो नीतिमा काम भएको छैन् भने दिगो वन विकास लागु हुन सकेको छैन् । यसले पनि हामीलाई समस्या भएको छ ।

उत्पादन नहुँदा श्रमिकलाई तलब दिन नसक्ने अवस्था सिर्जना भइरहेको छ । मरै कुरा गर्नु हुन्छ भने पनि मैले धेरै श्रमिक कटौति गरेको छु ।

नेपालमा यो क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति छन् त ?

नेपालमा दक्ष जनशक्ति पाउनै मुस्कील छ । सबै श्रमिक भारतबाट ल्याएर काम गर्नु पर्ने बाध्यता रहेको छ । नेपाली नभएकै अवस्था त होइन तर निकै न्यून मात्रामा मात्रै नेपाली श्रमिकहरु यो क्षेत्रमा आवद्ध छन् । यो पेशामा नेपालीको रुची नभएको अवस्था छ । जसले गर्दा उद्योगीले भारतबाट श्रमिक ल्याउनु पर्ने बाध्यता रहेको छ ।

काठबाट बन्ने बस्तु उत्पादन गर्नका लागि दक्ष जनशक्ति उत्पादन हुने र स्वदेशमा उत्पादन गरेको सामानको निर्यात गर्ने हो भने यो क्षेत्रमा निकै सम्भावना रहेको छ । सरकारले त्यसतर्फ ध्यान दिनु पर्ने देखिन्छ । धेरैभन्दा धेरै उत्पादन गरेर निर्यात गर्न सकेको खण्डमा स्वदेशमा नै रोजगारी सिर्जना हुने र विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या पनि हल हुने थियो ।

कोभिडले कस्तो असर गरेको थियो ?

कोभिडले सबै क्षेत्रलाई असर गरेको अवस्था हो । यसमा हामी पनि पर्ने कुरा भइनै हाल्छ । तर कोभिडको समयमाभन्दा अहिले अवस्था बिग्रेको छ । कोभिडको समयमा केही मात्रामा असर गरे पनि अहिले सरकारले ल्याएको नीतिका कारण यो व्यवसायमा समस्या थपिएको छ ।

सरकारले ल्याएको नीतिमा पुनरावलोकन गर्नु पर्ने आवश्यकता रहेको छ । जसबाट राज्य र व्यवसाय सबैलाई फाइदा पुग्छ । नीतिहरु बनाउने तर कार्यान्वयन गर्न नसक्ने अर्को परिपाटी पनि हामीमा छ । बन कर्मचारीको नियन्त्रणमा रहेको छ । यसले पनि थप समस्या निम्त्याएको छ । कर्मचारी आफैले ब्याख्या गरेर काम गर्न सक्ने नीति आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउँदै छ, कस्तो नेतृत्वको अपेक्षा गर्नु भएको छ ?

अहिले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा जाने व्यक्तिहरु उद्योगी भन्दा पनि बाहिरबाट अयात गरेको सामान बिक्री गर्नेहरु छन् । जसले गर्दा नेपालमा नै उद्योग गर्नेहरुका लागि कुनै पनि काम गरेको देखिदैन् । उद्योग खोल्ने गरि काम गर्ने नेतृत्वको आवश्यकता रहेको छ ।

महासंघमा पनि उद्योगलाई हेर्ने दृष्टिकोण अलि फरक नै छ । हामी उद्योगी भएकाले उद्योग नै फस्टाउनु पर्छ भन्ने हो । उद्योगले उत्पादन गरेर बजारमा पठाउँदा उत्पादन गर्दा रोजगारी सिर्जना हुन्छ । तर विदेशबाट आयात गरेका वस्तु बिक्री गरेर देश कसरी बन्छ ।

फाइदाका हिसाबले विदेशबाट सामान ल्याएर बेच्दा फाइदा होला । तर उद्योग नै स्थापना भएको खण्डमा समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउन मतद्द गर्छ । हामीले चाहेको नेतृत्व पनि उद्योगसँग जोडिएको होस् भन्ने हो । यसबाट राज्यलाई समेत फाइदा हुन सकोस् ।

समग्र निजी क्षेत्रका लागि महासंघले के गर्नु पथ्र्यो ?

सबैले आफ्नै समस्या देख्ने हो । हामीले पनि हाम्रै समस्यार्लाइ ठूलो देख्छौँ । महासंघ भएपछि सबैलाई हेर्नुनै पर्छ । सबै क्षेत्रका व्यवसायीका समस्या समाधान गर्नु पर्छ । धेरै मात्रामा समस्या समाधान पनि भइनै रहेको छ ।

तर आयाति सामानको बिक्रीभन्दा पनि स्वदेशमा उत्पादन बढाउने तर्फ लाग्नु पर्ने देखिन्छ । महासंघले सबै व्यवसायीको समस्या समाधान गर्नु पर्छ । स्रोतको परिचालन गरेर निर्यात गरेर देशलाई फाइदा पुग्ने गरि पनि काम गर्नु पर्ने हुन्छ ।

आयात गरेर बिक्री गर्ने काम मात्रै भइरहेको अवस्थामा उद्योग स्थापना गरेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने गरी महासंघ पनि लाग्नु पर्छ ।