GBIME

‘लघुवित्तका विषयमा नबुझि कोहि अनसन बस्छ भने तिनीहरुलाई टिपेर फोहोरमा फाल्नुपर्छ’ (भिडियो सहित)

13.84K
shares

काठमाडौं, ८ जेठ । पछिल्लो समय लघुवित्तहरुले आम सर्वसाधारणलाई दुख दिएको भन्दै आन्दोलनहरु भइरहेका छन् । आन्दोलनमा उत्रिएकाहरुले लघुवित्त नै खारेज गर्नु पर्ने माग गरिरहेका छन् । लघुवित्तका कारण नागरिकले आत्महत्या सम्म गर्नु परेको भन्दै लघुवित्त पीडित संघर्ष समिति बनाएरै आन्दोलन गरिरहेका छन् । लघुवित्तमा अहिले देखिएको समस्या के हो ? किन आन्दोलन गर्ने अवस्था सिर्जना भयो ? के लघुवित्त साच्चै बदमास नै हुन त ? यसै विषयमा केन्द्रित रहेर सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्मासँग केटिएम भ्वाइसकर्मी रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश :

अहिले लघुवित्तका सदस्यहरु नै आन्दोलनमा उत्रिएका छन् । तपाईहरुले जसलाई सेवा दिने भनेर गाउँ गाउँमा पुगिराख्नु भएको छ उनीहरु नै आन्दोलित बनिरहदा आफूले दिएको सेवा कस्तो दिएछौँ भनेर सोच्नु हुन्छ ?

प्रमुख कुरा के हो भने जसलाई हामीले खुशी बनाउन सेवा दिइएको हो । तिनिहरु नै हाम्रा विरुद्धमा छन् भने हामीले दिएको सेवामा अब हामीले पुनःविचार गर्नुप¥यो । हामीले सेवा दिने मान्छे भन्दापनि अरु बाहिरी मान्छे कोहि छिरे कि छिरेनन् त्यहाँपनि हामीले ध्यान दिनु पर्छ । हाम्रै सदस्य हाम्रो विरुद्ध हुन् कि हाम्रा सदस्यलाई अरुले उचालेर, उकासेर ति मिटरब्याजीहरु अथवा गाउँका सामन्ती शोषकहरु हुन् भन्ने कुरा हामीले एकदमै गम्भिर रुपमा सोच्नुपर्ने हुन्छ ।

यसमा राष्ट्र बैंकले पनि छानबिन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सपोर्ट गर्नुपर्ने हुन्छ । हामी आफैं सेवा प्रवाह गर्ने संस्थाहरुले पनि आफ्नो समिक्षा गर्नुपर्ने अवस्था आइसकेको छ । लघुवित्त क्षेत्रमा म रहेको कारणले मैले तपाईलाई भन्नै पर्छ ७७ वटै जिल्ला घुमेको र मैले २५/३० ठाउँमा वित्तीय साक्षरताको कार्यक्रम पनि गरेँ । सम्पूर्ण जनप्रतिनिधिहरु पैसा तिर्नुपर्छ तपाईहरुको पैसा नतिर्न मिल्दैन भनेर भनिरहेको अवस्था छ । मैले जहाँ जहाँ कार्यक्रमहरु गरेँ सबै ठाउँमा त्यस्तो जबाफ पाएँ । मैले ७५३ स्थानीय तहलाई पत्र लेखेर सिवाईसी नेपाल लघुवित्त यो यो काम गर्छ यो यो काम गर्दैन यदि हामीले गरेका काम राम्रा छन् भने हामीलाई काम गर्ने वातावरण दिनु ।

हामीलाई केहि सुझाव छ भने त्यो दिनुस् यदि सुझाव पनि छैन हामीले राम्रै काम गरेका छौं भने काम गर्ने वातावरणमा किन भाँजा हाल्ने काम गर्नुहुन्छ ? भनेपछि सबै निकायकाले आउँनुस् काम गर्नुस् हामी सहजीकरण गर्छौं भनेका छन् । हामी लघुवित्तकर्मीले के गरेनौं भने स्थानीय तहसँग समन्वय नै गरेनौं । हामी जसरी हुन्छ नाफा मात्रै कमाउन लागिरहेका छौँ । नाफा कमाउने र डिभिडन बाड्नेतिर गयौँ ।

अहिले लघुवित्त क्षेत्रमा यो कुराको सबै सचेत छन् । अहिले लघुवित्तमा धेरै सुधार भएको छ । सेवा शुल्कको बारेमा राष्ट्र बैंकले १.५ भन्दा बढि लिएको छ, तीन तीन महिनामा नविकरण गरेको छ तीन महिनामा फिर्ता गर्ने गरि राखेको छ भने फिर्ता गरेको छ । त्यसैले यो अति उत्कर्षमा पुग्यो अब यो बिस्तार बिस्तार सङ्लिएर सुध्रिन्छ । लघुवित्त क्षेत्रमा लाग्नुभएका सबै दिदीबहिनी तपाईहरु आन्दोलनको पछाडि नलागनुस् । यदि तपाईहरुको व्यवहार बिग्रेको छ भने जुन लघुवित्तबाट तपाईको व्यवहार बिग्रेको हो त्यहिँ लघुवित्तको कार्यालयमा जानु म अब उद्योगी बन्छु, म तपाईहरुको पैसा तिर्छु, मलाई केहि समयको लागि सहयोग माग्नुहोस् । अथवा म केहि काम गर्छु मलाई काम गर्ने वातावरण दिनुस् भनेर भन्नुुभयो भने पाईको समस्या समाधान हुन्छ । होइन आन्दोलनमा लाग्नुभयो भने त्यसमा लाग्दा के हुन्छ भने यता विश्वास टुट्दै जान्छ । पछि कुनैपनि लघुवित्त वित्तीय संस्थाले ऋण उपलब्ध गराउँदैन । त्यसले झन् आफैलाई असर गर्छ ।

बैंकिङ् कसुरमा आफ्नो बदनाम पनि हुन्छ त्यसैले सामाजिक एकतालाई भंग गर्ने काम कसैले नगर्नुस् । सामाजिक पुँजी विकास गरौं, समुहमा अगाडि लैजाऔं, भएका समस्याहरु सबै मिलेर समाधान गरौं । राष्ट्र बैंकका पदाधिकारीहरुले लघुवित्तमा वास्तवमा तिर्न नसक्ने सदस्य छन् भने, पुर्नलगानी गर्नुपर्ने छ भने तिनीहरुको नाम दिनुस् म त्यस्तै किसिमको मावल बनाएर सहयोग गर्छु भन्नुभएको छ भनेपछि समस्या कहाँ छ त ? त्यसैले मिडियाकर्मीले पनि सत्य, तत्थ र निष्पक्ष सूचना सम्प्रेषण गर्नुपर्यो ।

कुनै व्यक्तिले गल्ति गरेको छ भने सबै क्षेत्रलाई नै दोष दिनुभएन । लघुवित्तले यसो गर्यो भन्न भन्दापनि फलानो लघुवित्तको फलानो कर्मचारीले फलानो शाखाबाट फलानो सदस्यलाई यसो गर्यो भनेर पुरै ल्याउन पर्ने हुन्छ । भातमा आएर थुक्यो रे कसले थुक्यो, घरमा आगो लगाइदियो रे ए बाबा कसैले घरमा पैसा उठाउन कसैको घरमा आगो लगाउन सक्छ, त्यस्तो नचाहिने काम गर्न सक्छ ? अहिले आगलागीको सिजन छ आगो लाग्यो भन्दैमा लघुवित्तले आगो लगाए भनेर भन्नु भएन । कोहि मान्छे मर्दैमा लघुवित्तको पैसा तिर्न नसकेर मर्यो भनेर भन्न नि भएन ।

पैसा लिएर तिर्न नसकेर मर्छन् भने ति त अपराधि हुन् । पैसा लिने बेलामा लिने कुन लघुवित्तले घर घरमा गएर पैसा लिउ भन्छ, भन्दै भन्दैन । मान्छेले पैसा लिँदा आँखा ठुला थिए आज पैसा तिर्दा आँखा सानो भए त हामीले के गर्ने ? त्यसले गर्दा सामाजिक एकता खलबल नपुग्ने गरि हामीले लिएको पैसा तिर्नै पर्छ । कहिँबाट कसैलाई छुटकारा छैन, छुट हुँदा पनि हुँदैन सबैजनाले तिर्नैपर्छ सबैजना कर्जा तिर्न लाग्नुस् ।

अहिले लघुवित्तले जसरी हुन्छ नाफा कमाउँन मात्रै लागेको अवस्था छ यसमा तपाईको दृष्टिकोण के हो ?

बेलायतबाट सुरु भएको लघुवित्तको मर्म, धर्म र कर्म साह्रै राम्रो रहेछ विपन्नलाई समृद्ध बनाउन सकिन्छ भनेर संसारभर फैलियो । लघुवित्तको ग्रामिण मोडललाई आत्मसाथ गरिएन । हाम्रा ति सदस्यहरुलाई लगानी गर्न दिएको भए हुन्थ्यो नि बंगलादेशमा ९७ प्रतिशत लगानी महिला दिदिबहिनीहरुको छ हाम्रो यहाँ सदस्यहरुको लगानी नै छैन । सबै सेकेण्डरी बजारमा हुल्दियो ।

कयौं मान्छे यहाँ पसे सानो पुँजी सबैजनाले लिगेर त्यसबाट यति धेरै नाफा देखाइदिए सबै मान्छेका गिद्धे नजर त्यहाँ पर्यो । यसको पुँजी वृद्धि दिए हुन्छ नि पुँजी वृद्धि गर्न दियो भने बेस धेरै भयो भनेर त भएन । त्यसैले राज्यले लघुवित्तलाई सञ्चालन गर्ने हो कि होइन पहिला त्यहाँ सोच्नुपर्यो । सञ्चालन गर्ने हो भने कुन मोडलमा सञ्चालन गर्ने हो, मोडल पत्ता लगाउन पर्यो । मोडल अनुसारको काम नगर्ने लघुवित्तलाई कारर्वाहि गर्नुपर्यो र यदि विपन्न, सिमान्तकृत वर्गहरुको जीविकोपार्जनमा टेवा पुर्याउने हो भने लघुवित्तको विकल्प अरु केहिपनि हुन सक्दैन ।

लघुवित्त नै हो लघुवित्तको काम कर्तव्य र अधिकार बुझेर लघुवित्तलाई नै लघुवित्त सञ्चालन गर्न दिनुपर्छ । सबैलाई लघुवित्त सञ्चालन गर्न दिएर लघुवित्तको बदनाम गर्ने काम भयो । अहिले लघुवित्त सेक्टरलाई सुधार्न राष्ट्र बैंकले धितो कर्जा र सामुहिक जवानीकर्जा ७÷७ लाख रुपैयाँ बनाएको छ बरु सामुहिक जवानी कर्जा ३/४ लाखमा झारेर धितो कर्जालाई पहिले १५ लाख थियो भने १५÷२० लाख बनाउँदा पनि केहि भएन ।

लघुवित्तमा गरिब मात्रै हुन्छन्, घरबार विहिन भएका मात्रै हुन्छन् भन्ने छैन । त्यसैले धितो कर्जा २० लाखसम्म गर्ने, बिनाधितो कर्जालाई ३ लाखसम्म गर्ने र यसलाई वाणिज्य बैंकहरुबाट अलग गर्ने यदि लघुवित्तले ७ लाखसम्म मात्रै लगानी गर्न पाउने हो भने ७ लाख भन्दा तलको लगानी वाणिज्य बैंकहरुले गर्न नपाउने नियम बनाउनुपर्छ । ऋण लिन २ वटा लघुवित्त कायम गर्न पनि आवश्यक छ । एकजनाले बाख्रा पाल्न भनेर ऋण लियो भने एक महिनामा सावाँ ब्याज दुवै चुक्ता गर भनेर उसले कसरी चुक्ता गर्छ ? शिर्षक छुट्याएर ऋण उपलब्ध गर्न समेत आवश्यक छ ।

कृषि कर्जा भनेको छ भएजति सबैलाई एकै ठाउँमा राखिएको छ । यो भित्र पनि मौसमी छ भने छुट्याउन पर्यो । लघुवित्त आवश्यक हो भने यसलाई व्यवस्थित तरिकाले लैजान पर्यो आवश्यक होइन भने यी गोहिका आँशु किन सबैतिर झार्ने बन्द गरिदिए भयो त । पहिला सबैलाई स्विकृत दिने अहिले एकै पटक टाइट गर्न नि भएन बिस्तारै बिस्तारै टाइट गर्ने ।

तिमीहरु यति समयमा सुर्धेनौं भने कारर्वाहि गछौं भनेर भने त सकिन्छ त । हामीले पनि अस्वस्थ प्रतिस्पर्धाको नाममा जे पायो त्यहिँ नगर्ने, नियमन निकायले पनि स्वस्थ रुपमा आफै शोषाशित भएर काम गर्ने गरी नियमहरु ल्याइदिने हो भने लघुवित्त सेक्टरका समस्याहरु समाधान हुन्छन् । लघुवित्त अहिलेको यस्तो समयमा राज्ले अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने होइन तर लघुवित्त त अहिले अभिभावक विहिन भएको छन् ।

राष्ट्र बैंकले पुलिस प्रशासन सुुरक्षा दिने कुरा नि भएन दिन नि सक्दैन । गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालय दुर्गा प्रसाईंको नाच हेरेर बसेका छन् । लघुवित्तको बारेमा हामीले छलफल गरेर के गर्ने के नगर्ने स्टेपमा जानुपर्ने लाइनमा पनि सोच्नुपर्ने अवस्था आएको छ ।

लघुवित्तले ठगी गरे, गरी खान दिएनन् भन्दै सडकमा आउनुलाई सामान्य मान्न सकिए पनि लघुवित्तका कर्मचारीहरुलाई मोसो दल्ने जस्ता अराजग काम पनि भइरहेका छन् । यो अवस्थामा पनि सरकार निर्मम बन्न सकेन कि जस्तो देखियो नि होइन ?

मेरो विचारमा अहिले नेपालमा सरकार नै छैन । राज्यको परिभाषा भित्र यो राज्य पर्नै सक्दैन । अहिले लघुवित्त बन्द गर्नुपर्छ भनेर एउटा ग्रुप मण्डलामा अनसन बसेको छ । उनीहरुले किन लघुवित्त बन्द गराउँन खोजेका छन् ? लघुवित्तले १५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँछ लघुवित्त बन्द गरायो भने उनीहरुले मनपरी ब्याजदरमा आफुले पैसा कमाउन पाइने भएर यो आन्दोलन भइरहेको छ । यो लघुवित्तका सदस्यको आन्दोलन भन्दा पनि मिटरब्याजिहिरुको हो । एउटा लघुवित्तको नाम लिनुस् जसले लगानीकर्तालाई झुण्डिन बाध्य बनायो ।

अहिले मनिरामको आन्दोलनमा लागेका सम्पूर्ण दिदीबहिनहिरुलाई भेटेर के भनेको छु भने तपाईंहरुले हिजो पैसा नलिनु थियो लिनु भयो कर्जा दुरुपयोग नगर्नु थियो गर्नु भयो अझैपनि बिग्रेको केही छैन कुनै पनि समस्याले समाधान बोकेर आउँछ । तपाईं हामी सबै लघुवित्तबाट पैसा लिगेर दुरुपयोग गरेका सदस्यहरु भेला भएर फेरी समूह बेसर काम गरौं । तपाईंहरु के गर्न सक्नुहुन्छ त्यसको हामी तालिम दिन्छौं । त्यो अनुसार लगानी गर्ने पुँजी पनि दिन्छौं । साथै तपाईले गरेको लगानीबाट आउने प्रतिफल उत्पादनको लागी हामी बजारको पनि सुनिश्चितता गछौं । त्यो नाफाबाट किस्ता तिर्ने माहोल बनाउँछौं यो आन्दोलन छोड्दिनु ।

आउनुस् तपाई हाम्रो जीविकोपार्जनमा परिवर्तन आउने काम गरौं भन्दा किन मान्नु हुँदैन ? आन्दोलनबाट कसैले भनेर पैसा मिनाहा हुन्छ ? हामीले के बुझाउन सकेका छैनौं भने केही निश्चित व्यक्त्तिले त्यहाँ बचत गरेका छन् । त्यहिँ बचतलाई अरुले लगेर सदुपयोग गरेका छन् । त्यसैले आज लिएकाले म तिर्दिन भन्ने हो भने भोलि बचत गरेकालाई मेरो पैसा खै भनेर भन्यो भने के हुन्छ ? झन् ठुलो द्धन्द्ध हुन्छ । त्यसैले राज्यलाई पनि के भन्छु भने अहिले गृहमन्त्रालय छ, प्रधानमन्त्री हुनुहुन्छ, अर्थमन्त्री हुनुहुन्छ, राज्य यत्रो छ यो दुर्गा प्रसाईंलाई च्याप्प समातेर कारर्वाहि किन नगर्ने ?

मणिरामलाई कुन लघुवित्तले यसो गर्यो भनेर किन नभन्ने ? दुर्गा प्रसाईंलाई कसले फलायो त्यो रुखमा मान्छे यस्ता नचाहिने कुरा गरेर हुन्छ ? गाउँघरका दिदीबहिनीहरु अझै हामी पैसा तिछौं भनिरहेका छन् । किस्ता सानो बनाइदिनुहोस्, समय थपिदिनुहोस् हामी तिछौं भनेका छन् । वास्तविक ऋण लिएका मान्छेको व्यवसाय बिग्रिन पनि त सक्छ नि हिड्ने मान्छे लड्छ । लडेको मान्छेले म उठेर अगाडि बढ्छु भन्यो भने उठाउन पर्यो नि परेन ?

यदि कर्जा लिएर व्यवसाय टाट पल्टेका छन् केही गर्न सकेका छैनन् भने तिनीहरुको लागी राज्यले पनि केही हर्नुपर्यो, लघुवित्त आफैंले हेर्नुपर्यो । लघुवित्त यस्तो क्षेत्र हो जहाँ काम गर्दा यति आनन्द लाग्छ नि विपन्न, गरिब, दुःखी, सिमान्तकृतहरुसंग दुरदराजमा गएर काम गर्र्ने हो । दुरदराजका मान्छेहरुलाई आर्थिक क्षेत्रमा सक्षम र सबल बनाएर बाहिर ल्याउन सकियो भने त धेरै राम्रो हुन्छ नि उदाहरणको लागि पनि ।

यस्तो काम गर्ने संस्थाहरुको मनोबल गिराएर यस्तो संस्थामा काम गर्ने कर्मचारीहरुलाई मोसो लगाउँछु भनेर तर्साएर हुन्छ ? म त तर्सेको छैन म डराएको पनि छैन । वित्तीय साक्षरताले मात्रै पुगेन अब वित्तीय शिक्षा दिनुपर्छ । पैसाको महत्व बुझ्नु नै वित्तीय साक्षरता हो । त्यो पैसाको सदुपयोग गरेर त्यो पैसाको सदुपयोग गर्नलाई कहाँ कहाँ अवरोध छन् त्यो वित्तीय शिक्षा हो । अब हामी वित्तीय साक्षरताले मात्रै हुँदैन वित्तीय शिक्षा दिनुपर्छ । मान्छेहरुलाई पुँजीलाई परिचालन गर्ने त्यो पुँजीबाट धेरै नाफा कमाउने गरी अगाडि बढ्नुपर्छ ।

जतिपनि यो बजारमा आएका सूचना छन् जति आन्दोलन छन्, सबै आफ्नो दुनो सोझ्याउनलाई हो । लघुवित्तले यहाँ गल्ती गर्यो यहाँ यस्तो गर्यो भनेर कारर्वाहि गर्नुपर्यो । त्यो काम राज्यको हो नि । राज्यसंग प्रहरी छ, सेना छ, अदालत छ र कारागार छ । लघुवित्त सेक्टरमा सबैभन्दा धेरै अवसर छ । मान्छेलाई अतिरन्जित बनाएको समयमा काम गर्न सकियो भने त झन् राम्रो छ नि ।

लघुवित्तको बारेमा अहिले सबैजना सचेत छन् । लघुवित्त लघुवित्तले मात्रै चलाउनुपर्छ । लघुवित्त सहकारी चलाउँछ सहकारीले चलाएको लघुवित्तले गल्ती गरेको कि राष्ट्र बैंकको घ वर्गको लघुवित्तले गल्ती गरेको त्यो हेर्नुपर्यो । वाणिज्य बैंकले पनि लघुवित्त चलाउँछ । विकास बैंकले पनि लघुवित्त चलाउँछ, अर्को गाउँघरका दिदीबहिनीहरु आफैं मिलेर पनि लघुवित्त चलाएका छन् । त्यसले गर्दा लघुवित्त हाम्रो नाम हो हामीले लघुवित्तमा काम गरेका छौं । अरु हाम्रो ठाउँमा छिरेर जे पायो त्यो गरिदिन्छन् हो त्यसले गर्दा लघुवित्तको बदनाम भएको छ ।

एउटा लघुवित्तबाट मात्रै ऋणीले ऋण लिने हो भने ७ लाख भन्दा तलको कर्जा वाणिज्य बैंक, डेभलपमेन्ट बैंक, फाइनान्सले दिनु् भएन । त्यो सबै लघुवित्तले दिनुपर्यो । लघुवित्तले ३० प्रतिशत त कर तिर्छ । वाणिज्य बैंकले पनि आम्दानीको ३० प्रतिशत तिर्छ लघुवित्तले पनि त्यति तिर्छ ।

दुरदराजमा गएर विपन्नलाई सम्पन्न बनाउने भन्ने फेरी तिनै सदस्यलाई ३० प्रतिशत कर तिर्न लगाउने ? त्यो करको १० प्रतिशत त ति सदस्यले गरेको उत्पादनलाई बजार व्यवस्थापन गर्न अनुदान दिँदा के हुन्छ ? बल्ल उत्पादनले बजार पाउँछ । अहिले लघुवित्तको बारेमा जति पनि कुराहरु आएका छन् त्यो सबै भ्रम हो र यो भ्रममा कोहि कसै नपर्न अपिल गर्छु ।

उद्योग वाणिज्य महासंघका नेताहरु अझ भनौं बैंक सञ्चालक आफैं पनि बैंकविरुद्धको आन्दोलनमा हिडेको देखियो । बैंक सञ्चालक आफै यस्तो आन्दोलनका लागि सडकमा आउँदा बैंकका विषयमा झनै नकारात्मक सन्देश गयो नि होइन र ?

यहाँ म हाने झै गर्छु त रोए झै गर अनि यो निर्दोष जनतालाई लुटौं भन्ने अभियान मात्रै हो । राम्रो काम गर्नलाई कसले रोकेको छ ? ब्याज के नेपालमा मात्रै महंगो हो र ? संसार मै रुस र युक्रेनको युद्धले गर्दा हो नि त । फेरी ब्याज भनेको त बजारले निर्धारण गर्ने कुरा हो नि राष्ट्र बैंकले निर्धारण गर्ने हो र ? बचतकर्ता र ऋणिको तुलना गरेर नै बजारले ब्याजदर निर्धारण गर्ने हो ।

१५ प्रतिशत ब्याज पनि धेरै हो र ? नेपाल बैकिङ सेक्टरको कर्जा प्रवाह जति भएको छ नि राज्यले दिने सुविधा कसले लिन्छ ? मैले विभिन्न बैंकबाट कर्जा लिएको छु पुनकर्जा भनेर कोभिडको समयमा आयो त्यो कसले पायो त ? मुृठी भरका मान्छेले मात्रै पाए । विचरा ति सिमान्तकृत, विपन्न वर्गका मान्छेले कतिले पाए त जसको पोलिटिकल एक्सेस छ तिनीहरुले मात्रै पाउँछन् ।

म के भन्छु भने राज्यले कहिलै पनि सिधै सुविधा त्यसरी दिने नै होइन । जसले पाउने हो त्यसले पाएको छैन जसले नपाउने हो त्यसले पाएको छ । कृषिको अनुदान हेर्ने हो भने पनि जोसंग फार्म हाउस छ त्यो कागजपत्र मिलाउँदा मिलाउँदा हैरान पर्छ । उसको फार्म हाउस नै बन्द हुन्छ उ अनुदान लिनतिर जाँदैन । जो संग केहि हुँदैन त्यो चाहिँ अनुदानको लागी दौडिरहन्छ । जबसम्म हामी वास्तविक सिमान्तकृत र विपन्न वर्गमा पुग्न सक्दनौं तबसम्म देशआर्थिक रुपमा सबल र सक्षम हुन सक्दैन ।

यो समस्या सिर्जना हुनुमा केन्द्रीय बैंकको भुमिकालाई कसरी लिनुहुन्छ ?

यसमा केन्द्रीय बैंकको पनि केहि हदसम्म हात हुन्छ । लघुवित्त सेक्टरमा कन्द्रीय बैंकले निमयमनले मात्रै हुँदैन हामीले स्वनियमन गर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकले के गर्नुपर्छ भने जसलाई हामीले सेवा दिएका छौं नि ति सेवा लिने मान्छेको आवाज सुनिदिन आवश्यक छ ।

हामी काठमाडौंको फाइभ स्टार होटलमा बसेर ति विपन्न तथा सिमान्तकृतहरुको बारेमा निती बनाउन भन्दा पनि हामी दुर दराजमा जाने त्यहिँ अनुसार नितीहरु बनाउने गर्यो भने वास्तविक समस्या समाधान हुन्छ । राष्ट्र बैंककलाई मेरो अनुरोध के छ भने ८÷९ वटा लघुवित्तबाट ऋण लिएका सदस्यहरुलाई एक लघुवित्तबाट मात्रै कर्जा लिन पाउने निती ल्याइयो । वाणिज्य बैंकबाट लिन नपाइने, अन्य बैंकहरुबाट पनि लिन नपाइने भयो ।

यहाँ सदस्यहरुलाई आफ्नो रोजाईको लघुवित्तबाट ऋण लिन पाउने उनिहरुको अधिकार नै हनन भयो । ठुला लघुवित्त ठुला बैंकहरुले के गरे भनेँ, साना संस्थाहरुलाई बन्द गर्ने उद्धेश्य बोकेका छन् । त्यसैले कि हामीले सन्तान पाउनै हुँदैन राष्ट्र बैंकले कि अनुमति पत्र दिन हुन्न थियो अनुमति दिइसकेपछि सबैलाई समान व्यवहार गर्नुपर्यो । म के भन्छु भने एउटा लघुवित्तबाट मात्रै कर्जा लिन पाउँने नियमले गर्दा झन् सदस्यहरुले ऋणको भारी बोकेर झन् उठ्न नसक्ने हुँदै छन् ।

लघुवित्त सेक्टरले के गरिरहेको छ भने भन्ने बेला साथिहरुले आदर्शका कुरा गर्नुहुन्छ । आवश्यक नै नभएका कुरा सदस्यहरुलाई त्यो संस्था छोड् र हाम्रोमा आउ हामी तिमीलाई कर्जा दिन्छौं जस्ता अस्वस्थ प्रतिस्पर्धाले ऋणिहरु मारमा गइरहेका छन् । हामी लघुवित्तकर्मीहरु यति मिठा कुरा गछौं । यो मिठा कुराले केहि हुनेवाला नै छैन । विपन्न र सिमान्तकृतको जीविकोपार्जनमा टेवा पुग्ने वाला नै छैन ।

हामी एउटा कुरा बोलिरहेका हुन्छौं र अर्को कुरा गरिरहेका हुन्छौं । सबै लघुवित्तका सीईओहरुले आफ्ना कर्मचारी साथीहरुलाई जुन सदस्य हाम्रो संस्था छोड्न चाहन्छ छुट्न दिनु भनेर भन्ने हो भने म ठुलो लघुवित्त हुम भन्निको पनि ५०÷६० प्रतिशत सदस्यहरु निष्किन्छन् । हामी एकातिर एउटा कुरा गरेका छौं । अर्कोतिर अर्को कुरा गरेका छौं भन्ने बेलामा मिडियामा गएर म नै मिठा मिठा कुरा गर्छु तर मेरो व्यवहार हेर्नु त कति फरक छ । अहिले लघुवित्तले पनि एउटा बोल्छ अर्को काम गर्छ । बैंकहरुले पनि एउटा बोल्छ अर्को गर्छ ।

वास्तवमा पीडित पनि छन् नि, कर्जा दिने बेला ८ प्रतिशत भन्ने अहिले राष्ट्रिय अन्तराष्ट्रिय माहोल धमिलिएको होला ८ प्रतिशतमा दिएको १६ प्रतिशत त भएको छ नि । मैले नै वाणिज्य बैंकबाट १५.५ मा कर्जा लिएको छु । वाणिज्य बैंकले १५.५ प्रतिशत ब्याजदर लिँदा वाणिज्य बैंक महंगो नहुने लघुवित्त १५.५मा ल्याएर १२.५ देखि १५ प्रतिशतमा लगानी गर्दा लघुवित्तको महंगो हुन्छ ? यो दुर्भाग्य, बिडम्बना कसले सुन्ने ?

अससल व्यापरीले, असल व्यवस्थापकले यस्तो विषम परिस्थितीलाई नियालेर, बुझेर पाइला सार्ने हो । अहिले सबैतिर आर्थिक मन्दी छ पहिले पैसा लिने अनि अहिले तिर्न असहज भयो भनेर पेट्रोल खन्याएर हुन्छ ? यस्तालाई त कारर्वाहि गर्नुपर्छ । हामी नेपाली यति भावुक छौं यस्तो गर्यो सबैले पैसा जम्मा गर्दिने सबैले वाहवाह गर्दिने चलन छ यसको अन्त्य गर्नुपर्छ । यो व्यापारीहरुले गरेको आन्दोलनको कुनै औचित्य देख्दिन म । वित्तीय क्षेत्रको आम्दानी शुन्य भयो भने मान्छे कसले पैसा राख्छ ? बैंक टाट पल्टियो भने बैंकमा पैसा कसले राख्छ त्यसैले बैंकले नाफा कमाउँनै पर्छ ।

व्यवसायी र बैंक भनेका दुबै एक अर्कालाई चाहिने क्षेत्र नै हुन् । तर किन व्यवसायी र बैंकबीच यस्तो समस्या आइरहन्छ ?

बजारले सोचेजस्तो सेवा हामीले प्रवाह गर्न सकेनौं भने समस्या आउँछ । बैंक तथा वित्तीय क्षेत्रको नै हेर्ने हो भने ए भन्ने बैंकबाट पैसा ल्याउँछु बि भन्नेमा दिन्छ । बि भन्नेलाई तिर्न सि भन्नेबाट लिएको हुन्छ यसरी नै घुमिरहेको हुन्थ्यो । अहिले उत्पादनको सर्कल पनि छैन, रेमिट्यान्स पनि घट्दै गयो ।
यहाँको शिक्षा प्रणालीमा पनि अलि सुधार गर्नुपर्ने छ । त्रिभुवन विश्वविद्यालयले परिक्षा लिएको १८ महिना भयो नतिजा निकाल्दैन । यस्तो भएपछि नेपालमा बसेर उच्च शिक्षा हाँसिल गर्न कोहि पनि चाहँदैन । सबै विदेशिए यसको भनाई के भने सबैले पैसा लिएर पढ्न बाहिर गए । भएको पैसा सबै बाहिर गयो, उत्पादन हुँदैन सबै आयात गर्यो त्यसले गर्दा व्यवसायीक सर्कललाई सन्तुलन गर्न सकेनौं । अहिले सबै क्षेत्रमा समस्या आउनुको कारण सुक्ष्म रुपमा विश्लेषण गर्न नसक्नु हो ।

यो समस्या समाधान गर्न राष्ट्र बैंकले कस्तो कदम चाल्नुपर्ला ?

बैंक तथा वित्तिय क्षेत्रको विषयमा आन्दोलन सुरु भएको करिब डेढ वर्ष भयो । अहिले हाम्रो देशको राजनीतिमा धमिलो बनाउने तत्वहरु पैदा भए । बैंक तथा वित्तिय क्षेत्रमा के हुन्छ भने उनीहरु आफैले केन्द्र प्रमुख छनोट गर्छन्, आफैले अध्यक्ष छनोट गर्छन् । समुह भनेको संघीय संरचना हो । आफु राजनिती गर्न नेपालमा गणतन्त्र काम छैन, बहुदल काम छैन भनेर भन्ने यो सबै राज्यमाथिको प्रहार हो जूस्तो लाग्छ मलाई । आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ती खेलेको अतिरन्जित खेल हो । यो लामो समय जाँदैन । यो खेल विस्तार विस्तार जनताले बुझिसकेका छन् ।

जुन देशको अर्थतन्त्र धमिलिन्छ, जुन देशको परराष्ट्र खलबलिन्छ त्यो देश कहिलै सक्षम हुन सक्दैन । मैले राष्ट्र बैंक, नेपाल सरकार लघुवित्तकर्मी वाणिज्य बैंक लगायत सबै बैंकहरुलाई के भन्छु भने अहिले पनि बिग्रेको केहि छैन । सबैले आ–आफ्नो पदीय जिम्मेवारी पुरा गरौं ।

वित्तीय संस्थाहरुले खराब कर्जा लुकाउँछन् भन्ने चर्चा पनि निकै सुनिन्छ । के साँच्चै खराब कर्जा लुकाउँछन् नै ?

यो त हेर्नुस् खुलम् खुल्ला देखिएकै कुरा हो । यसमा छल्नुपर्ने ढाट्नुपर्ने के छ र ? अहिले वाणिज्य बैंककै एनपिएल कहाँ पुग्यो, यसमा स्वार्थ पनि छ । यसमा बाध्यता पनि छ लघुवित्तको ५ प्रतिशत भन्दा बढि खराब कर्जा भयो भने बैंकहरुले कर्जा दिन मान्दैनन् । राष्ट्र बैंकले ५ प्रतिशत खराब कर्जा भयो भने कारर्वाहि गर्दैन ।

केहि वाणिज्य बैंकले २ प्रतिशत भन्दा माथि खराब कर्जा भयो भने कर्जा दिदैन । केहिले ३ भयो भने दिँदैन । त्यसैले नेपालको अहिलेको यो विषम परिस्थितीमा मलाई लाग्छ वाणिज्य बैंकहरुले एक दुई वटाको म भन्दिन होइन भने कुनै पनि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत भन्दा तल त कसैको पनि छैन ।

एनपिएल नेपालको परिवेशमा १० प्रतिशत नराम्रो होइन १० मा कायम गर्दिए के हुन्छ ? चोर बाटो अपनाउन भन्दा फ्रि गर्दिए भैहाल्यो त । राष्ट्र बैंकले पनि कर्जा लुकाए भनेर अन्तराष्ट्रिय अडिट गर्ने भनेर लागिरहेका छन् । बैंक वित्तीय क्षेत्रप्रति सदस्यहरुको विश्वास बढाउन खराब कर्जा लुकाउँछन् ।

लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या कुन तहको होला ?

अहिले लघुवित्तमा देखिएको समस्या के हो भने कोभिडले सामाजिक पुँजीमा खलबलाइदियो । कोभिड आउँदा मानिसहरुमा एक आपसमा भेट हुन हुँदैन, बैठक गर्नु हुँदैन, धेरै मान्छेहरु भेला भयो भने त्यसले कोभिड सर्छ भनेर त्यसले सामाजिक पुँजी जुन अगाडि बढेको थियो । एकताको भाव थियो समुह सकियो, समुह नै समाज परिवर्तनको अभिन्न अंग हो भन्ने उद्धेश्यबाट अगाडि बढेका लघुवित्तहरुलाई कोभिडले छेदविच्छेद भए ।

कोभिड पछाडि कर्मचारी साथीहरु अल्छि भए । सीईओहरु अल्छी भए यसको मर्म अनुसार फेरी केन्द्र बैठकहरु सुचारु गरेनन् । पछि मणिराम, दुर्गा प्रसाईंहरु अतिरञ्जित भएर आफ्नो राजनितिक स्वार्थ बोकेर आइदिए । बिस लाख भन्दा तलको पैसा तिर्नु पर्दैन लघुवित्तले एकदम मिटरब्याजी पैसा लिएको छ, चक्रवति लिएको छ ।

यस्ता संस्थाहरुलाई खारेज गर्नुपर्छ बन्द गर्नुपर्छ भनेका छन् । कुन संस्थाले कुन लघुवित्तले मिटरब्याजी पैसा लियो भनेर कसले अहिलेसम्म कुन लघुवित्तको नाम लिएको छ ? राज्य आफै स्वचालित हुन सकेको अवस्था छैन, कर्मचारी साथीहरुलाई तलब खुवाउन सक्ने अवस्था छैन, अहिले बजारमा व्यापार नै छैन, मान्छेको उर्जा, उत्साह, उमंग केहि छैन, व्यवसायीहरु सबै आन्दोलनमा लागेका छन् व्यवसाय भएको छैन यसले गर्दा यो लघुवित्तको कोभिड पछिको सामाजिक पुँजीमा ह्रास आयो ।

लघुवित्तले के गर्यो वास्तवमा सिमान्तकृत र विपन्नको घरघरमा पुग्नुपर्ने थियो सहरकेन्द्रित भए । लघुवित्तबाट कर्जा लिएर वाणिज्य बैंकहरुले ब्याज तिर्ने काम गरियो यसले हामीमा भएको कमीकमजोरीका कारण पनि लघुवित्तमा आर्थिक समस्या सिर्जना भए । वास्तमा भन्ने हो भने लघुवित्तको महत्व नबुझेका ब्वाँसाहरु नै यसको विरुद्धमा लागेँ ।