Dhulikhel Eco Banner new

छ महिनामा निर्यात ४४ प्रतिशतले बढ्यो, आयातसँगै व्यापार घाटा पनि उकालो

3.47K
shares

काठमाडौं, २० माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको वस्तु व्यापारमा मिश्रित चित्र देखिएको छ। निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयात बढिरहेकाले व्यापार घाटा अझै फराकिलो बनेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ३१.८ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारततर्फको निर्यात ५७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ १०.७ प्रतिशतले बढेको छ। यद्यपि चीनतर्फको निर्यात भने ६६.७ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामग्री, जुत्ता तथा चप्पलको निर्यात बढेको छ। विपरीत, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका वस्तुको निर्यात घटेको छ।

यता, छ महिनामा कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर ७.१ प्रतिशत थियो।

मुलुकगत आधारमा भारतबाट आयात ५.९ प्रतिशत, चीनबाट २२.१ प्रतिशत र अन्य मुलुकबाट ३२.४ प्रतिशतले बढेको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, चाँदी र सुनको आयात बढेको छ। हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल र तेलहनको आयात भने घटेको छ।

पुस मसान्तसम्म कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ४.४ प्रतिशतले मात्र बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १२ प्रतिशतको तुलनामा सुधार हो।

यसैबीच, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८६ अर्ब ८६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब ५६ करोड रुपैयाँ बराबरको थियो।