नेपालमा आठ महिनामा २ खर्बभन्दा बढीको पेट्रोलियम आयात
वि.सं.२०८२ चैत ८ आइतवार १७:४४
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन)मा नेपालले पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम खर्च गरेको छ ।
भन्सार विभागका अनुसार, यस अवधिमा कुल २ खर्ब ९ अर्ब ९९ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो आयात २ खर्ब ६ अर्ब ३७ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको थियो । यस आधारमा चालु वर्ष १।७६ प्रतिशतले आयात मूल्य वृद्धि भएको देखिन्छ ।
नेपालले पेट्रोल, डिजेल, मट्टीतेल, फर्नेस आयल, एलपीजी, लुब्रिकेटिङ आयल, कोइला र बिटुमेन लगायतका पेट्रोलियमजन्य पदार्थ आयात गर्दै आएको छ । यी वस्तुहरू यातायात, उद्योग, कृषि तथा घरायसी प्रयोगका लागि अत्यावश्यक भए पनि बढ्दो आयातले व्यापार घाटा बढाउने र विदेशी मुद्रा सञ्चिति घटाउने जोखिम पनि बढाएको छ ।
तथ्यांकअनुसार, डिजेल आयात सबैभन्दा धेरै भएको छ । चालु वर्ष ८२ अर्ब १० करोड ५१ लाख ६ हजार रुपैयाँको डिजेल आयात भएको छ, जुन अघिल्लो वर्षको ७८ अर्ब ८६ करोड ३७ लाख ४५ हजार रुपैयाँको तुलनामा ३.९५ प्रतिशतले बढी हो । परिमाणतर्फ पनि डिजेल आयात २.८० प्रतिशतले बढेको छ । चालु वर्ष ८ लाख ९६ हजार ४४८ किलोलिटर डिजेल आयात हुँदा अघिल्लो वर्ष ८ लाख ७१ हजार ३९९ किलोलिटर आयात भएको थियो ।
यस्तै पेट्रोल आयातमा पनि वृद्धि देखिएको छ । चालु वर्ष ४३ अर्ब ८९ करोड ७३ लाख ७८ हजार रुपैयाँको पेट्रोल आयात भएको छ, जुन अघिल्लो वर्षको ४२ अर्ब ८० करोड १७ लाख १३ हजार रुपैयाँको तुलनामा २.४९ प्रतिशतले बढी हो । परिमाणमा भने सामान्य वृद्धि मात्र देखिएको छ । चालु वर्ष ५ लाख ११ हजार ९०७ किलोलिटर पेट्रोल आयात हुँदा अघिल्लो वर्ष ४ लाख ८९ हजार ८४२ किलोलिटर आयात भएको थियो ।
तर, खाना पकाउने ग्यास ९एलपीजी० आयातमा भने गिरावट आएको छ । चालु वर्ष ३७ अर्ब ३१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बराबरको एलपीजी आयात भएको छ, जुन अघिल्लो वर्षको ४१ अर्ब ९ लाख ८८ हजार रुपैयाँको तुलनामा ९.८८ प्रतिशतले कम हो । परिमाणमा पनि २.८१ प्रतिशतले कमी आएको छ—चालु वर्ष ३६ करोड २० लाख ९५ हजार ७२ किलोग्राम आयात हुँदा अघिल्लो वर्ष ३७ करोड २२ लाख ८१ हजार ९७९ किलोग्राम आयात भएको थियो ।
समग्रमा, पेट्रोलियम पदार्थमा नेपालको उच्च निर्भरता यथावत् रहँदा आयात खर्च बढ्दै जानु अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।



















