बीमा दाबी भुक्तानी लिन राष्ट्रिय बीमा कम्पनीको आग्रह
वि.सं.२०८२ चैत १८ बुधवार १४:००
shares

काठमाडौं, १६ चैत । राष्ट्रिय बीमा कम्पनी लिमिटेड ले आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ सम्म जारी भएका बीमालेख अन्तर्गत दाबी निवेदन दिएका बीमितलाई भुक्तानी प्रक्रिया अघि बढाउन आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार उक्त अवधिमा दाबी दर्ता भए पनि लामो समयसम्म अपुग कागजात पेश नभएकाले भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन। बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजात नआएको भन्दै कम्पनीले अब अन्तिम रूपमा १५ दिनको समय दिएको जनाएको छ।
कम्पनीले बीमितहरूलाई आफूले बीमा गरेको प्रधान वा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात बुझाएर दाबी भुक्तानी लिन अनुरोध गरेको छ।
तोकिएको अवधिभित्र पनि कागजात पेश नगरेमा त्यस्ता दाबीहरू फाइन बन्द भई तामेलीमा जाने कम्पनीले स्पष्ट पारेको छ। साथै, दाबी भुक्तानीका लागि दर्ता भएका विवरणहरू कम्पनीको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको जनाएको छ।

















