नियामकीय व्यवस्था उल्लंघन गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा
वि.सं.२०८३ जेठ ४ सोमवार १५:५८
shares

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासमा केन्द्रीय बैंकबाट कारबाहीमा हिमालयन बैंक परेको हो ।
राष्ट्र बैंकका अनुसार जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट दिएको पाइएको छ । उक्त छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरिएको समेत निरीक्षणमा देखिएको छ ।
त्यस्तै, बैंकले तोकिएको समयसीमा नाघिसकेपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्रै असुल गरी कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
निरीक्षणका क्रममा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्रै सोही वर्गमा राखी अन्य साँवा रकमलाई असल कर्जाकै रूपमा वर्गीकरण गरिएको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भेटिएको हो ।
यसबाहेक केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि थपिएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जामा वर्गीकरण नगरेको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नराखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।
एकीकृत निर्देशन, २०८१ को व्यवस्था उल्लंघन भएको ठहर गर्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २ (क) बमोजिम हिमालयन बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको जनाएको छ ।
साथै, ऐनको दफा १०० उपदफा १ (ख) बमोजिम जारी निर्देशन उल्लंघन गरेबापत बैंक सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
















